+447766462325 dheetamu@gmail.com
Kulman 1 1756101810a

लन्डन । उज्यालो नेपालका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा समर्थन गरिदिन बेलायतसहित विश्वभरिका नेपाली समुदायलाई अपिल गरेका छन् ।

केम्पर्टन पार्कमा आइतबार २४ अगस्टमा तमुधीं यूकेले आयोजना गरेको १६ औं नेपाली मेलामा सम्बोधन गर्दै अभियन्ता घिसिङले नेपालका समग्र क्षेत्रमा उज्यालो हुनु जरुरी रहेकोले आफूहरुको अभियानमा सहयोग र समर्थन गरिदिन अपिल गरेका हुन् ।

‘नेपालमा अब बत्तीको उज्यालोले मात्रै हुँदैन । अब समग्र क्षेत्रमा उज्यालो हुनुपर्छ । समग्र क्षेत्रको उज्यालोका लागि हामीले काम गर्नुपर्छ । हरेक ठाउँमा भएका अँध्यारोलाई हटाउँदै उज्यालो नेपाल बनाउनुपर्छ,’ उनको भनाइ थियो, ‘अहिले हामी उज्यालो नेपाल अभियान लिएर देश विदेशमा लागेका छौं । मलाई समर्थन गरिदिनु होला । तपाईंहरुले अहिले सम्मान पाउनुभएको छ । तपाईंहरुले प्रगति गर्नुभएको छ । तर नेपालले प्रगति गरेन, नेपाल सम्पन्न भएन भने तपाई सम्मानित भइरहन सक्नु हुने छैन ।’

बेलायत बस्नु भए पनि यहाँका नेपालीले नेपाललाई बढी माया गरिरहेको उल्लेख गर्दै घिसिङले अब नेपालको परिवर्तन, नेपाललाई उज्यालो बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले थपे, ‘त्यहाँ (नेपाल)को हरेक ठाउँमा सही मान्छे । सही नेतृत्व स्थापित गर्न भूमिका तपाईंहरुले खेल्नु पर्छ । आवश्यक परेको बेला तपाईंहरु नेपाल पनि जानुपर्ने हुन्छ । त्यसमा तपाईंहरु प्रतिबद्ध भएर लाग्नु होला ।’

परिस्थितवश विद्युत् प्राधिकरणबाट बाहिरिनु परे पनि आफूले नेपाल सरकारलाई धन्यवाद दिँदै आएको उनले उल्लेख गरे । ‘म विद्युत् प्राधिकरणबाट बाहिर आएँ । एउटा बत्तिको उज्यालो बनाएँ । घाटाको प्राधिकरणलाई नाफामा पुर्‍याएँ । गाउँ गाउँमा बत्ती पुर्‍याए । नेपालको जलविदुत्‌लाई भारतदेखि बंगलादेशसम्म लगेँ । ४ महिना अगाडि नै म प्राधिकरणबाट बाहिरिने अवस्था आयो । मैले सरकारलाई हार्दिक हार्दिक धन्यवाद दिने गरेको छु,’ उनले थपे, ‘म प्राधिकरणबाट बाहिर नआएको भए तपाईंहरुसँग भेट्ने अवसर प्राप्त गर्ने थिइनँ । अहिले म खाडीदेखि अमेरिका, बेलायतका देशमा भएका २५ हाराहारीमा कार्यक्रममा सहभागी भएर यहाँ आएको छु । मलाई गौरव लाग्छ ।’

तमुधीं यूकेले हरेक वर्ष नेपाली मेला आयोजना गरेर नेपालको राष्ट्रिय गीतले भनेजस्तो ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्ने भावनालाई चरितार्थ गरेको भन्दै उनले प्रशंसा गरे । ‘तमुधीं यूकेले गरेको नेपाली मेलाको बारेमा मैले सुनेको मात्रे थिएँ । आज प्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा मैले गौरवान्वित महसुस गरेको छु । जुन बेलादेखि तमुधीं यूकेले यो मेला सुरु गर्‍यो । यो मेलाले वास्तवमा राष्ट्रिय गीतले भनेजस्तो सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावना छ । त्यो भावनाले तपाईंहरुले यो मेलामार्फत चरितार्थ गर्नुभएको छ । यसका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ 

अभियन्ता घिसिङले गोर्खाको मुद्दामा नेपाल र बेलायत सरकारबीच सकारात्मक वार्ता भइरहेको जानकारी आफूले पाएको भन्दै खुसी प्रकट गरे । साथै नेपालको संविधानले व्यवस्था गरेको एनआरएन नागरिकता तत्काल कार्यान्वयनमा ल्याउनुमा जोड दिँदै उनले वंशजको नागरिता निरन्तरतामा आफ्नो समर्थन रहेको प्रतिबद्धता जनाए ।

गोर्खाका इस्यु यहाा आएर बुझ्ने मौका पाएँ । यो अल नेपाल अल पार्टियामेन्टका सांसदलाई पनि भेट्न पाएँ १९९७ भन्दा अगाडिका गोर्खाका इस्यु पेन्सनलगायतमा नेपाल र ब्रिटिस सरकारको कमिटीले काम गरिरहेको रहेछ । जुन सकारात्मक रुपमा काम गरिरहेको जानकारी पाएँ । त्यसका लागि खुसी प्रकट गर्न चाहन्छु ।