7888656517 dheetamu@gmail.com
104136118 2686214658290154 321373500182017104 N

हुम तमु, पोखरा, 32 जेठ
जेठ ३१ गते शनिवारको दिन। बिहान उठ्ने वित्तिकै मोबाइलमा मौसम पुर्वानुमान हेरें, दिउसो २ बजेदेखि पानी पर्ने देखायो। ओहो बर्बाद पो हुन्छ कि भन्ने लाग्यो। सोंच सकरात्मक बनाएँ, अवश्य वर्षात हुने छैन, मौसमले बर्बाद बनाउने छैन भन्ने विश्वास लिएँ। शुभकार्यमा माथि इन्द्र छन भने साथ रहन्छ भन्ने सोंच बनाएँ। किनकी शनिवार पोखरामा तमु धिं युकेले विभिन्न ५ वटा शिर्षकमा १३ लाख ३६ हजार रुपैयाको कोरोना राहत सहयोग हस्तान्तरण र वितरण गर्दै थियो। शुभकार्यमा शुभेच्छा सँगसँगै तमु धिं नेपालको कार्यकर्ताको सामाजिक भावनाले, तमु पत्रकारको हैसियतले आफ्नो तर्फबाट साथ सहयोगको कर्तव्य बोध थियो।तमु धिं युकेको कोरोना राहत सहयोग हस्तान्तरण र वितरणको प्याकेजमा हाम्रै दाजुभाई दिदिबहिनीहरुले कर्मभुमि परदेशबाट जन्मभुमिलाई संकटको बेला सगुन थियो, लामो लकडाउनले आहतको बेला कोरोनाले अत्यन्तै प्रभावित हुदा समेत युकेबाट कुल कुटम्बको मायाको कोशेली हस्तान्तरण र वितरण गर्ने दिन थियो। युकेमा रहेर तमु धिं युकेले र नेपालको तमुवानको राजधानी पोखरालाई केन्द्र बनाएर तमु धिं नेपालले नेपालमा रहेर एउटै उद्धेश्य, लक्ष्यका साथ सेवा गरिरहेकाले पनि संस्थागत अपनत्व उसै थियो। त्यसैले पनि कार्यक्रम भव्यताका साथ सफल बनाउनु हामी सबैको दायित्व ठानिएकाले बिहान उठ्ने वित्तिकै मौसम पुर्वानुमानतर्फ आँखा पुगेको हुनुपुर्छ।
मोबाइलको मौसमले जे सुकै भने पनि विहानदेखि मौसम राम्रै हुने लक्षण देखायो। भुगोलको विद्यार्थी र पोखराको मौसमको भुक्तभोगी मध्येका भएकाले पनि मौसम अनुकुल हुदै भो भन्दै उमंगित हुदै कार्यक्रमको आन्तरिक व्यवस्थापन र तयारीमा जुटि नै रहेको थिएँ। हुन त राहत सहयोग हस्तान्तरण र वितरण कार्यक्रम दिउसो २ बजेदेखि ४ बजेसम्ममा सम्पन्न गर्ने कार्यतालिका तमु युकेका नेपाल सल्लाहकार तथा संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युकेका पुर्व अध्यक्ष तथा सल्लाहकार मेजर डम्बर घले, तमु धिं युकेकै पुर्व अध्यक्ष तथा सल्लाहकार मुच्छेत्र गुरुङले तमु धिं युकेको कार्यसमितिसँग सरसल्लाह एवम समन्वय गरी तय गरिएको थियो। उक्त राहत हस्तान्तरण र वितरणका लागि उहाँह तिनजनाको मुख्य जिम्मेवारी तथा तमु धिं नेपाल, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफान सहयोगीको भुमिकासहितको योजना तय थियो। तयारी पनि त्यही अनुसार। असहाय, अपांग, विपन्नसँग सिधै सरोकार भएको कार्यक्रम खाद्यान्न राहत वितरण कार्यक्रमको तय पोखरा रंगशालामा गरिएको थियो। नवनिर्मित भव्य रंगशालाको सुन्दर फुटबल मैदानमा कार्यक्रम गर्ने र मौसमले बदमाशी गरिहालेमा हलभित्र गर्ने गरी राखेप बोर्ड सदस्य राजेश गुरुङसँग समन्वय भइसकेको थियो।


तमु धिं युकेको ५ शिर्षकका राहत सहयोग हस्तान्तरणलाई तीन स्थान र समय तोकिएको थियो। तालिकानुसार पहिलो कार्यक्रम गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा दिनको २ बजे तय गरिएको थियो। उक्त कार्यक्रममा तमु धिं युकेले सगुन स्वरुप पठाएको १३ लाख ३६ हजार रुपैया राहत सहयोग पोको फुकाउदै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचारकोषमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ लाख, कास्कीका ३ सय जना पत्रकारको कोरोना बिमाका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई १ लाख ८० हजार र तमु(गुरुङ) कलाकार संघ, नेपाल केन्द्रीय समितिका लागि केन्द्रीय सदस्य दुर्गा गुरुङमार्फत १ लाख रुपैया सहयोग हस्तान्तरण गर्ने कार्यक्रम तय थियो। तथापि लामो लकडाउनले प्रभावित, जस्को चुल्हो निभ्न लागेका २ सय परिवारलाई ३ लाख ५० हजार बराबरको खाद्यान्न राहतका लागि २ः३० बजे पोखरा रंगशालमा कार्यक्रम तय गरिएता पनि खाद्यान्न राहत वितरण कार्यक्रमबाट लाभान्वित हुने राहतग्राहीहरु १२ बजे अघिदेखि नै रंगशाला गेट आउने क्रम शुरु भईसकेको थियो। कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङसहित तमु धिं युकेका पोखरा रहनुभएका सदस्यहरु, कार्यक्रम व्यवस्थापनका लागि तमु धिं नेपाल, तमु साँस्कृतिक प्रतिष्ठान र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानको समुहगत उपस्थिति बढ्दै रह्यो।


पहिलो कार्यक्रम २ बजेको तयारीका लागि १ः१५ बजे मुख्यमन्त्री कार्यालय परिसरमा पुग्ने समय भन्दा अगाडि खाद्यान्न राहत वितरण कार्यक्रमको व्यवस्थापनलाई जोड थियो। किनकी उक्त कार्यक्रममा विभिन्न क्षेत्र, अपांगता र विपन्न समुदायबाट अति नै समस्यामा रहेकाहरुलाई राहत वितरण गरिने भएकाले कार्यक्रम केही भिडभाड र संवेदनशील प्रकृतिको थियो। उक्त कार्यक्रमको व्यवस्थापन तयारी गर्दा तिनवटै संस्थाका साथीहरुभाईहरु बिच केही विश्लेषण पनि सुनियो, जुन मननीय थियो। होइन युकेबाट कति धेरै सहयोग आएको हो, तमु धिं युके संस्था नै ठुलो, युकेको पाउण्ड नै ठुलो। होइन तमु धिं युकेको काम गराई नै प्रसंशनीय भन्दै भावना र मन ठुलोका कारण युकेमा पनि सहयोग गरिरहेको छ भने नेपालमा पनि उस्तै सहयोग गरिरहेको समेत छलफल चल्यो। यो यर्थाथ विश्लेषण थियो। अवश्य पनि तमु धिं युके प्रभावशाली संस्था, तमु धिं युकेको काम गराई, निर्णयहरु, भावना र मन विशाल भएकाले जन्मभुमिमा दुःख र सुखमा सधै साथै भन्दा पनि एक कदम अघि बढेको देख्दछौं।सन २००० मा युकेमा स्थापित तमु धिं एशोसियसन युके जे गर्छ, धित मर्ने गरी गर्छ। कार्यक्रम होस, सेवा होस वा सहयोग नै किन नहोस।अझै जन्मभुमि नेपाल आगमनमा त सहयोगको आँधीबेहरीसँगै टिम नै आउने गर्दछ। यो सबै टिमवर्क, टिमस्पिरिटसँगै सामुदायिक नेतृत्वका कारणले हो।
कोभिड १९ कोरोना भाइरसको महामारीले अत्यन्तै प्रभावित मात्रै होइन ७० वढी नेपालीले मृत्युबरण गर्नुपरेको मुलुक युकेको प्रभावशाली संस्था तमु धिं युकेको कोरोना राहत सहयोग पनि आँधीबहेरी नै बोकेर आएको महसुस भएको छ। एउटै संस्थाले यस्तो संकटको बेलामा, आफै कारोनाले अति प्रभावित भएको ठाउँबाट १३ लाख ३६ हजार राहत सहयोग, अत्यन्तै आवाश्यक ५ वटा क्षेत्रलाई राहत सहयोगले तम धिं युकेको शिर उच्च हुदै गएको छ। ठुलै धन, ठुलै मन, अति राम्रो शिर्षकमा सहयोग निर्णयका कारण सबैको वाही वाही।कि त नबुझदा कि त धेरै बुझेर टिकाटिप्पणी हुने गर्दछ तथापि संस्थागत दायित्व, मर्यादा, उद्धेश्य, कार्यक्रमको आवाश्यकता र प्रभावकारीता अवश्य पनि मनन हुन भने जरुरी छ। वाही वाही पनि राम्रैको हुन्छ, टिका टिप्पणी पनि राम्रैकै गरिन्छ, होइन र?
दिनको २ बजेसँगै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको परिसरमा आयोजित कार्यक्रममा तमु धिं युकेको कार्यसमितिले निर्णय गरी सबैभन्दा धेरै रकम विनियोजित गरिएको गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचारकोषमा ५ लाख मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरिएको थियो। उक्त सहयोग रकम कार्यक्रम संयोजक, तमु धिं युकेका नेपाल कोअर्डिनेटर मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युकेका पुर्व अध्यक्षद्वय मेजर डम्बर घले र मुच्छेत्र गुरुङसहित तमु धिं युकेका नेपालमा रहनुभएका चन्द्र गुरुङ, नरजंग गुरुङ, भोजबहादुर गुरुङ, लालकाजी गुरुङ, अशोक गुरुङ, ज्ञानकाजी गुरुङ लगायतले सामुहिक रुपमा रकम चेक हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रदेश सभासदस्यद्वय मनबहादुर गुरुङ र मिनप्रसाद गुरुङ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङसहितका कार्यसमितिका सदस्यहरु, कास्कीका पत्रकारहरु, कलाकारहरुको उपस्थिती रहेको थियो।


यसरी नै तमु धिं युकेले कास्कीका ३ सय जना पत्रकारहरुलाई कोरोना बिमाका लागि १ लाख ८० हजार पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र तमु(गुरुङ)कलाकार संघ, नेपाल केन्द्रीय समितिका लागि केन्द्रीय सदस्य चर्चित गायिका दुर्गा गुरुङलाई १ लाख राहत सहयोग हस्तान्तरण गरिएको थियो।
राहत सहयोग ग्रहण पश्चात मुसुक्क मुस्कुराउदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहयोगी संस्था तमु धिं युकेलाई धन्यवाद व्यक्त गर्नुहुदै तमु धिं युके दुःखको साथी भन्दै प्रसंसा गर्नुभयो। तमु धिं युके रोलमोडल संस्था भएको बताउनुहुदै उहाँले गत वर्ष आफु तमु धिं युकेको निम्तोमा नेपाली मेलामा सहभागी हुने अवसर र बसाईको अनुभवका साथै संस्थाको गतिविधीले दुखको साथीका साथै रोलमोडल प्रमाणित गरेको बताउनुभयो। उहाँले भन्नुभयो, तमु धिं युके नामको हिसाबले तमुको संस्था भए पनि कामको हिसाबले युकेबासी नेपालीहरुको साझा संस्थाको रुपमा क्रियाशील, बेलायती राजदुताबाससँगको राम्रो सम्बन्ध भएको, गोर्खा कप, नेपाली मेला जस्ता विशेष कार्यक्रमहरुले संस्था अग्रणी भएको प्रमाणित गरेको छ।बिगतदेखि आपत विपत, महाभुकम्प, बाढिपीडित, शैक्षिक, सामाजिक, खेलकुद लगायतका क्षेत्रमा पुरयाएको योगदानले आडभरोसाको संस्था रहेको उहाले बताउनुभयो। संस्कार सस्कृति, पहिचान बचाउने मात्रै होइन नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्ने, सहयोगी संस्था भएका भन्दै तमु धिंको चर्चा गर्नुभयो। उहाँले समस्याको बेलामा कसले कति सहयोग होइन कि को कसको सहभागीता जनायो भन्ने महत्वपुर्ण ठानेको भन्दै युकेदेखि सहयोग गरेकोमा तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङ लगायत तमु धिंको टिमलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकारलाई फ्रन्टलाइनर हो, जोखिम बढी हुन्छ भनि तमु धिं युकेले कोरोना बिमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो। उक्त सहयोगले पत्रकारहरुको जीवन रक्षाका साथै सम्मान समेत तमु धिंले गरेको उहाँको भनाई थियो। तमु धिंलाई धन्यवाद पत्र प्रदान गर्दै अध्यक्ष श्रेष्ठले अधिकांशले पत्रकारहरुलाई युज एण्ड थ्रो गर्ने, आवाश्यक पर्दा प्रयोग गर्ने र पछि बिर्सने दुखेसो व्यक्त गर्नुभयो।श्रेष्ठले मुख्यमन्त्रीलाई समस्या पर्यो प्रष्ट पार्नुपर्यो पत्रकार चाहिन्छ, प्रदेश सरकारलाई केही सम्प्रेषण गर्नु पर्यो पत्रकार चाहिन्छ, कसैले राहत बाड्न पर्यो पत्रकार चाहिन्छ, आफनो केही कुरा सम्प्रेषण गर्नु परे पत्रकार चाहिन्छ, घटना घट्यो पत्रकार चाहिन्छ, आपत विपतमा पत्रकार चाहिन्छ, कार्यक्रम भयो पत्रकार चाहिन्छ, अन्यायमा पर्यो पत्रकार चाहिन्छ, आरोप लगाए कसैले पत्रकार चाहिन्छ तर जब पत्रकारलाई सहयोग गर्नुपर्ने हुन्छ कहाँ पत्रकारलाई पनि सहयोग चाहिन्छ भन्ने नियती रहेको गुनासो गर्नुभयो। महामारीको बेला कसैले पत्रकारको जोखिमलाई नसोचेको अवस्थामा तमु धिंले कोरोना बिमा गरिदिएकोमा पुनः धन्यवाद व्यक्त गर्नुभयो।
यसै गरी सहयोग ग्रहण गर्दै तमु कलाकार संघ नेपालकी केन्द्रीय सदस्य गायिका दुर्गा गुरुङले लकडाउनले अधिकांश कलाकारहरु समस्यामा रहेको बेला तमु धिंको साथलाई आफुहरुले सधै सम्मान गरिरहने बताउनुभयो। दोहोरीमा गाउने नाच्नेहरु, विभिन्न कार्यक्रमबाट जीवन गुजारा गर्ने कलाकारहरुको मर्का बुझ्ने तमु धिं युके साँच्चीकै अभिभावक बनेको उहाँको भनाई थियो।
उता युके मिचेटस्थित तमु धिं भवनमा तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङ लगायत टिम नै सामुहिक रुपमा सामाजिक संजालमार्फत प्रत्यक्ष प्रसारणमा मुख्यमन्त्री कार्यालय र पोखरा रंगशाला दुबै तर्फको कार्यक्रममा जुट्नुभएको थियो।मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित राहत सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री लगायत सम्पुर्णलाई मिचेटबाटै तमु धिं अध्यक्ष नन्दजंग गुरुङले धन्यवाद व्यक्त गर्नुभएको थियो। राहत हस्तान्त्रण तथा वितरण कार्यक्रमको बारेमा संयोजक, तमु धिं युकेका नेपाल कोअर्डिनेटर मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी गराउनु भएको थियो भने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै दोस्रो कार्यक्रम स्थल पोखरा रंगशालातर्फ प्रस्थान गरिएको थियो।
पोखरा रंगशाला पुग्दा नवनिर्मित सुन्दर फुटबल मैदानमा सामाजिक दुरी कायम गरी व्यवस्थित ढंगले राहत र राहतसँगै राहतग्राहीहरु । रातो टिसर्टमा गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका कलाकार स्वयसेवक, खरानी रंगको टिसर्टमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका टिमबाट चिरिच्याट्टै तयारी । मुख्यमन्त्री कार्यालय परिसरमा कार्यक्रम केही लामो भएकाले रंगशालामा टन्टलापुर घाममा समेत जिफानका कलाकारहरुले नृत्य प्रस्तुत गर्दै राहतग्राहीलाई मनोरञ्जनको वातावरण।लामाचौर, बगर, नदिपुर, नयाँबजार, फुलवारी, मालेपाटन, मासवार, बैदाम, पार्दी, छोरेपाटन, बाझापाटन, चाउथे, रामबजार, नयाँगाउ, खाल्टेमसिना, बौमारा लगायतका क्षेत्रबाट खाद्यान्न अभावले चुल्हो निभ्नै लागेका अपांग, विपन्न, एकल महिला, सुत्केरी, दलित समुदाय, मजदुर, असहाय २ सय परिवारसहितको राहत सामग्रीले फुटबल मैदानको आधा आधी ढपक्कै ढाकिएको थियो।


कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युके पुर्व अध्यक्ष मेजर डम्बर घले, अर्का पुर्व अध्यक्ष मुच्छेत्र गुरुङसहित माननीयहरु मिनप्रसाद गुरुङ, मनबहादुर गुरुङसँगै अर्की माननीय मिना गुरुङ पनि थपिनु भयो भने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको कार्यक्षेत्र मै उहाँले नै प्रदान गर्नुभएको स्थलमा उहाँको महत्वपुर्ण उपस्थिती। सहयोग हस्तान्तरण र वितरण कार्यक्रममा शुरुदेखि नै तमु धिं नेपालको टिम सँगै जुटि नै रहेको थियो।
कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले कार्यक्रम शुरु गर्नुहुदै तमु धिं युकेको कोरोना राहत सहयोगको बारेमा जानकारी दिनुहुदै राहतसँगै रहनु भएका राहतग्राहीको पहिलो पंक्तिलाई माननीयहरु, तमु धिं युके, तमु धिं नेपालका प्रतिनीधिहरु, दोश्रो लाइनका राहतग्राहीलाई जिफान र तेश्रोलाईनका राहतग्राहीलाई तमु साँस्कृतिक प्रतिष्ठानका एकै पटक ३ लाख ५० हजारको राहत हस्तान्तरण सहित राहत वितरणलाई औपचारिकता दिइएको थियो। उक्त कार्यक्रममा स्थान प्रदान गर्नुभएका राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले तमु धिं युकेले राहत वितरण गरेर पुनित कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खेलकुदर्क गौरबको रंगशाला निर्माणका लागि तमु धिं युकेको साथ सहयोगको प्रसंशा गर्नुहुदै विगतमा सार्क गेम सम्पन्न गरेको पोखरा रंगशालामा आगामी दिनमा हुने नवौं राष्ट्रिय खेलकुदमा सबैको सहयोगको लागि अनुरोध समेत गर्नुभयो।
लकडाउनको पहिलो सातामा नै विपन्न असहाय, गरिब, अपांगलाई सरकारले केही राहत वितरण गरे पनि करिब तीन महिनासम्म हातमुखको जोड्न पनि कठिनाई परेको अवस्थामा तमु धिं युकेको राहत पाउदा राहतग्राहीहरु मख्ख हुदै सहयोगदातालाई धन्यवाद व्यक्त गरेका थिए।सरकार हरायो, युके तमु धिंको ठुलो मन रहेछ उनीहको भनाई थियो। रंगशालाको राहत वितरण सम्पन्न सँगै कार्यक्रम व्यवस्थापनमा जुट्नु भएका जिफान, तमु साँस्कृतिक प्रतिष्ठान, तमु धिं नेपाल लगायतका सबै टिम पानी पिउन जुट्यौं। यही बेला तमु धिं युकेको राहत सहयोग हस्तान्तरणको तेश्रो स्थल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी)अस्पताललाई २ लाख ६ हजार बराबरको ५० वटा पिपिई, ३५० के एन ९५ मास्क हस्तान्तरणको तारतम्य समेत मिलायौं।शनिवार दिन, अस्पतालका निर्देशक डा.अर्जुन आचार्य आफ्नो गाउ तनहु पुग्नु भएको जानकारीसगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन वरिष्ठ सर्जन डा.नरेन्द्र विक्रम गुरुङलाई मैले नै सम्पर्क गरी घर रहनु भएका डा.गुरुङलाई अस्पताल आउन आग्रह पश्चात शनिवार नै तमु धिं युकेको कोरोना राहत सहयोग हस्तान्तरण तथा वितरण सम्पन्न गरिएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी)अस्पतालमा आयोजित कार्यक्रममा राहत सहयोगको बारेमा कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युकेका पुर्व अध्यक्ष मुच्छेत्र गुरुङ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले भनाई समेत राख्नुभएको थियो। स्वास्थ्य सामग्री ५० पिपिइ र ३५० मास्क कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा.नरेन्द्र विक्रम गुरुङ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सविन लामिछानेलाई तमु धिं युकेका पुर्व अध्यक्ष मुच्छेत्र गुरुङल हस्तान्तरण गर्दा डा.गुरुङ र लामिछानेमा खुसीको मुस्कुराहट थियो। सहयोग ग्रहणसँगै डिन डा.गुरुङले तमु धिं युकेले अस्पतालका लागि स्वाथ्यकर्मीहरुका निम्ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेर ठुलो सहयोग गरेको बताउनुभयो। स्वास्थ्यकर्मी अत्यन्तै जोखिममा रहन सक्ने भएकाले स्वास्थ्यकर्मीप्रति चिन्ता जाहेर गरी सहयोग गरेको भन्दै तमु धिं युकेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी)अस्पतालको तर्फबाट उहाँले धन्यवाद पत्र हस्तान्तरण गर्नुभएको थियो। मुख्यमन्त्री कार्यालय हुदै पोखरा रंगशालाको कार्यक्रम सम्पन्न गर्दा निकै थकितका कारण अस्पतालमा कार्यक्रम संयोजक लक्ष्मीप्रसाद गुरुङ, तमु धिं युके पुर्व अध्यक्ष मुच्छेत्र गुरुङ,तमु धिं नेपालको कार्यवाहक अध्यक्ष तथा सञ्चारकर्मी म आफै हुमबहादुर गुरुङ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङ, कार्यसमिति सदस्यहरु गिमाया गुरुङ, कौशिला गुरुङ र तमु धिंका भाञ्जा बिग्नेश थापा सहयोग हस्तान्तरणका लागि अस्पताल पुगेका थियौं। कार्यक्रमको अन्तिममा तमु धिं नेपालको तर्फबाट कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ र कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले सम्पुर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरिएको थियो।
युकेको अत्यन्तै प्रभावशाली तमु धिं युकेले जन्मभुमिका लागि कोरोनाको कहरमा पठाइएको ठुलै भारी १३ लाख३६ हजार पाँच वटा शिर्षकका कोरोना राहत सहयोग अबिराम तीन स्थानमा कार्यक्रम गरी हस्तान्तरण र वितरण गरिदा दिउसो २ बजेदेखि पोखरामा पानी पर्ने मौसम पुर्वानुमान सत्कार्यका अघि कुलेलम ठोक्यो।कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भए। पोखरामा हामी मख्ख, तमु धिं युकेको अध्यक्ष लगायत सम्पुर्ण टिम मिचेटस्थित तमु धिं भवनमा मख्ख।
जय तमु धिं ।

error: Content is protected !!