
तमुधिं यूकेले विभिन्न कार्यक्रमसहित २१ औं ल्होछार मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार विशेष कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको हो । अब नयाँ वर्ष तो ल्हो (बाघ वर्ग) लाई स्वागत गरिएको छ ।
बेलायतमा केही महिनायता कोरोना भाइरसको प्रकोप अति नै बढेको छ । एकै दिनमा १ लाखभन्दा बढीमा पोजिटिभ भएको र दिनहुँ १०० जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भइरहेको छ । यस्तो विषम परिस्थितिमा पनि तमुधिं यूकेले पूर्वनिर्धारित ल्होछार कार्यक्रम सरकारको नियम पालन गर्दै सफलतापूर्वक सम्पन्न गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल थिइन् । त्यस्तै गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगर, निवर्तमान अध्यक्षहरु पुनम गुरुङ, योगेन क्षेत्री, मे.रि. डमर घले एमबीई, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, तमुधिंका संस्थापक अध्यक्षदेखि प्राय: सबै निवर्तमान अध्यक्षहरु, काउन्सलरहरु, विभिन्न संघसंस्थाका अगुवाहरु, तमुधिं एकाईका अध्यक्ष र आमा समूहको उपस्थिति रहेको थियो । धेरै पाहुनाहरुको उपस्थितिले कार्यक्रममा रौनकता थपेको थियो ।
पाईपर कृष्ण राईको मीठो ब्याक पाईपको धुनसँगै प्रमुख अतिथि खनाल रातो कार्पेटमा पाइला राख्दै हलमा प्रवेश गरेको दृश्यले पक्कै पनि कार्यक्रमको सुरुवात सभ्य र भव्य महसुस गरिएको थियो । छोटोमा सुरक्षा नियमको वर्णन प्रेम गुरुङले गरेका थिए । कार्यक्रमलाई विधिवत रुपमा सुरुवात गर्न दीप प्रज्ज्वलन प्रमुख अतिथि खनाल, तमुधिंका अध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहका अध्यक्ष मन्जु गुरुङ र उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले गरे । नेपाल र बेलायतको राष्ट्रिय गान र तमुहरूको गान बजाइएको थियो । कोरोना कहर र अन्य कारणले दिवंगत सदस्यहरुप्रति चीर शान्तिका लागि दुई मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रम संयोजक तथा तमुधिं यूकेका उपध्याक्ष जुमकाजी गुरुङले स्वागत भाषण गरेका थिए । त्यसक्रममा गुरुङले भनेका थिए, ‘कति करैले आउनुभएको छ । कति कोरोनाको डरैले आउनु भएन । जति रमाइलो गर्न आउनुभएको छ, सरकारको नियम पालन गरी रमाइलो गरौं र सुरक्षित भएर घर फर्कौं । सम्पूर्णलाई ल्होछार २०२१ को कार्यक्रममा स्वागत र धन्यवाद दिन चाहन्छु ।’
युकेवासी गुरुङहरुको मुखपत्र “फ्रेंसी” २०२१ सालको लोकार्पण प्रमुख अतिथि खनाल र अन्य अतिथिहरुबाट भयो । फ्रेंसीका प्रमुख सम्पादक एकेन्द्र गुरुङले भने, ‘यो हाम्रो दस्तावेज हो । ऐना हो । सबै तमुहरुको विचार र यथार्थ समेटिएको पुस्तक हो ।’
त्यस्तै कार्यक्रममा विभिन्न पुरस्कार वितरण, सम्मान गरिएको थियो । जसअनुसार शिक्षामा उच्च नतिजा प्राप्त गरेका गुरुङ छात्रछात्रामध्ये एक जनालाई बर्सेनि दिने “स्व. डा. हर्क गुरुङ अवार्ड” यसपाली यामुना गुरुङ र सबिन गुरुङका छोरा नोम गुरुङले हात पारेका छन् । उनले मेडिष्टोन ग्रामर स्कुलबाट जीसीएसईमा १० वटा ए-स्टार र वान-ए हासिल गरेका हुन् । उनले पुरस्कारबापत ५०० पाउन्ड र ट्रफी पाएका छन् ।
वर्षभरिमा अथक् समाजसेवा गरेका तमुहरुलाई “कम्यूनिटी सर्भिस अवार्ड” दिइएको थियो । अवार्ड पाउनेहरुमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, तमुधिं लन्डन एकाईका हेलिशा गुरुङ, बिनु गुरुङ, साउथ ईष्ट लन्डन तमुधिका अर्चना गुरुङ, सूर्य गुरुङ, तमुधिं ह्याम्पसयर एकाईका लिना गुरुङ, ध्रुव गुरुङ, चार भञ्ज्याङ तमु समाज यूकेका दुर्गा गुरुङ र बेन कुमार गुरुङ थिए ।
कार्यक्रममा प्रमुख अतिथि खनाल तमुधिंले गरेका कामहरुबाट अति प्रभावित भएको र अझ धेरै गर्न सक्ने क्षमता भएको भन्दै प्रशंसा गरिन् । नेपाली मेला, गोर्खा कपजस्ता बृहत् कार्यक्रमहरु गरेर नेपाल र नेपालीलाई विदेशी भूमिमा पहिचान गर्न सफल तमुधिंले नेपालको आर्थिक विकासमा पनि योगदान पुर्याउन सकिने भन्दै खनालले ल्होछारको शुभकामना दिइन् ।
यस्तै अध्यक्ष हित काजी गुरुङले रमाइलोका लागिमात्रै ल्होछार कार्यक्रम नगरिएको बताए । उनले भने, “परिस्थिति सहज छैन । हामीले ल्होछार रमाइलोको लागिमात्र आयोजना गरेका होइनौं । तमुहरुको नयाँ वर्ष हो र हामीले मनाउनु पर्दछ । बेलायतमा प्राय: कार्यक्रमहरु स्थगित भइरहेका छन् । सबैमा डर छ । तर हामीले बेलायत सरकारले दिएको नियम पालन गरी गोर्खा कप र नेपाली मेला सम्पन्न गर्यौं । त्यसरी नै ल्होछार गर्दैछौं । उपस्थित सबैलाई शुभकामना र स्वागत गर्न चाहन्छु ।”
तमुधिं यूकेले पहिलो पटक आफ्नो लाइफ मेम्बरहरुलाई नि:शुल्क प्रवेश र खाना उपलब्ध गरेको थियो । अन्य सदस्यहरुलाई पनि प्रवेश शुल्क न्यूनमात्र लिइएको आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षक नेपालबाट आमन्त्रित गायिका पवित्र गुरुङ थिइन् । गुरुङ नेपाली गीतहरु पस्किएर पवित्रले युकेवासी तमुहरुको मन जित्न सफल भइन् । नुवाकोटमा जन्मिएकी पवित्र क्लासिकल म्यूजिकको चौथो वर्षका विद्यार्थी हुन् । ‘नक्कली कान्छी, हे बाबा तिम्रो, ङ्ल ङोलो, तो तै ङोलोस्यो, लैंसार मुनसम्म, फूलको आँखामा, डाँडाघरे साइँली आदि धेरै चर्चित गीत गाएर सबै उमेरकालाई नचाई छोडिन् ।
सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ र योगेश गुरुङले संचालन गरेका थिए । स्थानीय कलाकारहरुले पनि कला प्रस्तुत गरे । हेलिसा, बिनु र पुनमले नृत्य प्रस्तुत गरेका थिए भने रश्ना गुरुङले “फूल बुटे सारी” गीत गाएकी थिइन् । सयपत्री कल्चर ग्रुपको पनि प्रस्तुति रहेको थियो ।
तमुधिंका उपाध्यक्ष गुरुङका अनुसार विभिन्न व्यवसायहरुबाट कार्यक्रममा स्पोन्सर भएको थियो । पिपल मोर्गेजेज्, आईएमई, गोर्खा ट्राभल्स, पेपरवर्क सोलुसन, गोर्खा मोर्गेजेज, ऐशिया ओरिन्टल, भर्म ज्वालरिज्, एभरेष्ट क्यास एण्ट क्यारी, आईडिया फर नेपाल, एम्पाएर बनक्युटिङ एण्ड हल, चाईन ओरिन्टल र हाईट्स मोर्गेजेजबाट स्पोन्सर प्राप्त भएको उपाध्यक्ष गुरुङले बताए ।
राफल ड्र का लागि पहिलो पुरस्कार एक तोला सुन भर्म ज्वालरिस्का मोहन गुरुङबाट, दोस्रो र तेस्रो पीपल मोर्गेजेज र चाईन ओरिन्टलले प्रायोजन गरेका थिए । एक तोलाको पहिलो पुरस्कार समाजसेवी मन्जु गुरुङ राईले हात पारिन् ।
मुख्य कार्यक्रमको संचालन महासचिव परशुराम गुरुङले गरेका थिए । मिठो शैलीमा बोल्ने महासचिवको कार्यक्रम चलाउने शैली पुरानो ढंगाको तर भरोसपूर्ण रहेको देखियो । कार्यक्रमलाई सफल बनाउन आमा समूहको लगातार खटाइ देखिन्थ्यो । त्यस्तै मिडिया सेक्रेटरी एसके गुरुङ, डिजे सपनकुमार राई र धेरै स्वयंसेवकहरु सुरुवातदेखि कार्यक्रम समापनसम्म खटिएका थिए ।