तमुधिं यूकेको नव निर्वाचीत अध्यक्षले यसरी आफ्नो कार्यकालको पुर्वतयारी गर्दै

लण्डन । बेलायतको सबैभन्दा ठूलो र प्रमुख नेपाली संस्थामध्येको एक तमुधिं यूकेमा अहिले नयाँ नेतृत्व आएको छ । दुई दशकअघि संस्था स्थापना हुँदादेखि नै विभिन्न पद र जिम्मेवारीमा रहँदै आएका हित काजी गुरुङ सर्वसम्मत रुपमा संस्थाको एघारौं अध्यक्ष निर्वाचित भएका छन् ।

ल्होछारका अवसरमा कार्यभार ग्रहण गर्ने संस्थाको परम्परा पछ्याउँदै यही डिसेम्बर २६ शनिबारदेखि हित काजी नेतृत्वको कार्यसमितिले आफ्नो २ वर्षे कार्यकालका लागि संस्थाको कार्यभार लिंदैछ ।

नवनिर्वाचित अध्यक्ष हित काजीले सन् २००० मा स्थापित तमु धिं यूकेको संस्थापक कार्यसमितिमै सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि संस्थाको कोषाध्यक्ष र उपाध्यक्षका रुपमा पनि एकएक कार्यकाल काम गरे उनले ।

व्यक्तिगत कामले केही समय नेपाल जानुपर्ने भएपछि भने हित काजीले कार्यकारी जिम्मेवारीबाट ब्रेक लिए र ८ वर्षसम्म सल्लाहकारको भुमिकामा रहे । सल्लाहकारका रुपमा पनि संस्थामा सधै सक्रिय रहँदै आएका उनी पछिल्ला दुई कार्यकालमा भने उपाध्यक्षको पदमा कार्यसमितिभित्रै रहेर काम गरे ।

पर्वत वेल्फेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष रहेका हित काजी अन्तरराष्ट्रिय पर्वत समाजमा प्रमुख संरक्षक छन् । बेलायतकै ग्रेटर रश्मोर नेपाली समाजका संस्थापक सल्लाहकार हुन् ।

बेलायतको नेपाली समुदायकै सबैभन्दा अग्रणी संस्थाको नेतृत्व सम्हाल्दै गरेका तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङलाई उनको २ वर्षे कार्यकालका प्रमुख योजनाहरुमा केन्द्रित रहेर नेपाली लिंकले केही प्रश्नहरु सोधेको छ ।

के छन् दुई वर्षे कार्यकालका तपाईंका प्रमुख योजना ?

हाम्रो संस्थाको विधान र नीतिले निर्दिष्ट गरेको दिशामै संस्थालाई अघि बढाउनु मेरो पहिलो दायित्व हो । लामो इतिहास र गरिमा बोकेको संस्थाको नेतृत्व काँधमा लिंदा पक्कै पनि ठूलो जिम्मेवारीबोध भएको छ । त्यहि जिम्मेवारीलाई व्यवस्थित र फलदायी रुपमा पूरा गर्नु नै अबको मेरो एउटै संकल्प हो ।

हाम्रो संस्थाका अग्रजहरुको सल्लाह, आम सदस्यहरुको अपेक्षा र हाम्रो समुदायको आवश्यकता र हितलाई नै सर्वोपरी राखेर काम गर्ने मेरो अठोट छ ।

प्राथमिकताहरु केके छन् ?

मैले नेतृत्व गर्ने दुई वर्षको कार्यकालमा संस्थाको आर्थिक पक्षलाई थप सबल पार्ने कोशिस मेरो रहनेछ । हाम्रो संस्था आफ्नो गौरवपूर्ण विगत र प्रतिष्ठा कमाउँदै आज यो ठाउँसम्म उभिन सफल छ । एक स्थापित सामाजिक वा च्यारिटी संस्थाको रुपमा अब आर्थिक पक्ष पनि अझै बलियो पार्दै जान जरुरी मैले देखेको छु ।

संस्थाको आर्थिक सबलिकरणका लागि स्रोत नै प्रमुख कुरा रहन्छ । त्यही स्रोत व्यवस्थापन कसरी गर्ने भनेर हामीले उपयुक्त योजना र कार्यक्रमहरु बनाउन गृहकार्य गरिरहेका छौं ।

त्यसबाहेक बेलायतको प्रमुख नेपाली संस्थाको हैसियतले हाम्रो संस्थाले अब तमुहरु मात्र नभएर गैरतमुहरुसहित बेलायतको सिंगो नेपाली समुदायलाई एकताबद्ध गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

तमु धिं ले गैरतमुहरुलाई कसरी एकताबद्ध गर्छ ?

तमु धिं यूकेको आजसम्मको यात्रा र यसका गतिविधिहरुलाई नियाल्दा पनि यो एक जातीय संस्था मात्र होइन भन्ने स्पष्ट हुन्छ । बरु एक सामाजिक संस्थाका रुपमा यसको आफै पहिचान र महत्व स्थापित भइसकेको छ । तमु धिं यूकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेला, गोर्खाकप र ल्होछार जस्ता प्रमुख कार्यक्रममा पनि यहाँको सिंगो नपाली समुदायको सहभागिता रहने गरेको छ ।

त्यसैले मेरो धारणा के छ भने तमु धिं भन्दैमा तमुहरुमै मात्र केन्द्रित र सिमित हुनुपर्छ भन्ने छैन । बेलायतस्थित अन्य नेपाली संघसंस्थाबीच समन्वय गर्न र सिंगो नेपाली समुदायलाई एकताबद्ध गर्न पनि तमु धिं यूकेजस्तो संस्थाले नेतृत्वदायी भुमिका खेल्न सक्छ र खेल्नुपर्छ भन्ने मेरो मान्यता हो ।

अन्य नेपाली संघसंस्थासंगको समन्वय, सहकार्य कसरी अगाडि बढाउनुहुन्छ ?

बेलायतमा रहेका सबै नेपाली संघसंस्थाबीच एक आपसमा समन्वय र सहकार्य हुनु निकै महत्वपूर्ण छ । त्यसो हुन सके मात्रै हामीले लक्ष्य राखेअनुसार हाम्रो समुदाय र समुदायका सदस्यहरुको हित सोचेर गरिने कामहरु प्रभावकारी हुन सक्छन् ।

समन्वय र सहकार्य भन्दैमा सबैजना एउटै संस्थामुनि आउनुपर्छ भन्ने पनि होइन । सबै संघसंस्थाका आआफ्नै पृष्ठभुमि, आधार र लक्ष्यहरु छन् । तर जब हाम्रो सिंगो समुदायको लागि केही गर्न सकिने साझा मुद्धाहरु आउँछन्, हामीहरु सबै एकठाउँमा उभिन सक्नुपर्छ ।

तमु धिं यूकेले वर्षेनी आयोजना गर्दै आएको नेपाली मेलालाई नै हेरौं न । हाम्रो समुदायका सबै पक्ष, समूह, जाति, संस्कृतिको प्रतिनिधित्व हुने कार्यक्रम हो । समुदाय र यहाँका जति धेरै संघसंस्थाको सहभागिता गराउन सक्छौं, कार्यक्रम त्यति बढी सफल र प्रभावकारी हुन्छ भन्नेमा कुनै आशंका छैन ।

कार्यक्रमहरुबारे पनि केही विशेष योजना छन् कि ?

तमु धिं यूकेले वर्षेनी रुपमा गर्दै आएका नेपाली मेला, गोर्खाकप, ल्होछार जस्ता कार्यक्रम बेलायतको सिंगो नेपाली समुदायकै आफ्नै कार्यक्रम बनेका छन् । यी सबै कार्यक्रममा तमुहरु मात्र नभएर गैरतमुहरुको पनि उत्तिकै सहभागिता र साथ, सहयोग रहँदै आएको छ ।

हाम्रो कार्यकालमा पनि यी कार्यक्रमहरुको निरन्तरता त हुन्छ नै, अझै बढी व्यवस्थित र थप सहभागितामुलक बनाउने हाम्रो कोशिस रहनेछ ।यी नियमति कार्यक्रमहरुबाहेक मेरो नेतृत्वको दुई वर्षभित्र एउटा विशेष कार्यक्रम पनि गर्ने मेरो योजना छ । हाम्रो कार्यकालमा त्यस्तो केही गर्न सकियोस्, जसले गर्दा संस्था र समुदायलाई लामो समयसम्म लाभ मिलिरहोस् भन्ने चाहना छ ।

त्यसबाहेक, संस्थाको सदस्यता विस्तार, संगठनात्मक सुदृढिकरण लगायतका विषयलाई पनि प्राथमिकतासहित अघि बढाउनेछु ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »