तमुधिं यूकेको टोली सिक्लेस भ्रमणमा, चिउली क्वोईंबो धिंलाई २ लाख २ हजार सहयोग

तमुधिं यूकेको टोलीले गण्डकी प्रदेशभित्रको उत्कृष्ट गाउँहरुमध्ये पर्यटकीय क्षेत्र सिक्लेसको भ्रमण गरेको छ । 

नेपाल भ्रमणमा रहेको तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङको नेतृत्वको टोलीले माघ संक्रान्तिको अवसरमा यही माघ २ र ३ गते सिक्लेस भ्रमण गरेको हो । भ्रमण टोलीलाई पहिलो दिन सिक्लेसमा भव्य स्वागत गरिएको थियो । नाचगान कार्यक्रममा अध्यक्ष गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी भए । त्यस्तै आमा समूह अध्यक्ष सन्ध्या गुरुङलगायत अतिथिको रुपमा सहभागी भए । 

त्यस कार्यक्रमअघि अध्यक्ष गुरुङको टोलीले ठेलो कार्यक्रम अवलोकन गरेको थियो । तमुधिं यूके टिमलाई माघ ३ गते चिउली क्वोईंबो धिंलेका तर्फबाट अध्यक्ष इच्छाबहादुर गुरुङ, गेहेन्द्र गुरुङलगायतले भव्य स्वागत गरेका थिए भने मिष्ठान्न भोजनको व्यवस्था गरिएको सहभागीले बताए ।  

Gurkha traval

त्यस क्रममा तमुधिं यूकेको तर्फबाट १ लाख १ हजार र अध्यक्ष हरि गुरुङ र उनकी पत्नी तमुधिं यूके आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ तथा परिवारले  १ लाख १ हजार सहयोग प्रदान गरेका थिए । त्यसपछि भ्रमण टोलीले सिक्लेसको रमणीय ठाउँहरु अवलोकन गरेको थियो ।

टोलीमा तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ तथा आमा समूह अध्यक्ष मन्जु सीता गुरुङ, ट्रस्टी एवं गीतकार एकेन्द्र गुरुङ, पूर्वकार्यसमिति सदस्य श्रीप्रसाद गुरुङलगायत  थिए । 

सिक्लेस कस्तो ठाउँ हो ?
कास्की जिल्लाको उत्तरपूर्वी भागको अन्नपूर्ण हिम श्रृंखलाबाट उत्पत्ति भएको मादी नदीले बनाएको फाँट पाखोमा आधारित भएर बसेको सिक्लेस गाउँको इतिहास सायद नेपालको अरु धेरै पुरानो र ठूल्ठूला गाउँहरुको भन्दा पुरानो लगभग एक हजार वर्ष पुरानो मानिन्छ । सिक्लेससम्बन्धी कतिपय जानिफकारहरुको भनाइअनुसार क्होंलामा बस्ती हुँदा त्यहाँ पनि बस्ती थियो तर सानो गाउँको कारण प्रख्यात हुन सकेको थिएन । १३औं शताब्दीतिर जब क्होंलासोंथरको बस्ती विघटन भयो अनि ठूलो संख्यामा सिक्लेसमा मानिसहरु क्होंलाबाट आए, यही क्रममा अरु ठाउँहरुबाट पनि परिवारहरु त्यहाँ आइ बस्न थाल्दा त्यहाँको बस्ती ठूलो हुँदै गयो र ठूलो बस्तीको आवश्यकता अनुसार त्यहाँको खेतीपती, पशुपालन, मर्दा पर्दाको रीतिथिति बोनधर्म माथि पुनर्विचार, काटछाँट र भागबन्डासमेत गरे । नियम कानुन शासन पद्धतिमा सुधारलगायत राज्य व्यवस्थालाई सघाउने गरी स्थानीय नियम कानुनहरुलाई जीविकोपार्जनको राम्रो व्यवस्था गरिएको थियो ।

कानुनलाई राम्ररी कार्यान्वयनको स्थिति थियो । समय अनुसार बदलिँदो परिस्थितिमा सिक्लेसमा पनि बदलाब आउँदै गयो । बि.स.२००० को २५ वर्ष अघि र पछि समयमा सिक्लेसको जनसंख्या चुलिएको थियो । २०२५ सालयता फाट्टफुट्टरुपमा सिक्लेसबाट बजारतर्फ मानिसहरु लाग्न थालेको पाइन्छ । बसाइँसराईको क्रम पहिला सिक्लेसमा अन्तैबाट भई आएको थियो । सिकारी युगदेखि कृषि युगमा प्रवेश गर्दा जमेको सिक्लेस आज कृषि र वैदेशिक रोजगारको युगलाई पछि पार्दै पर्यटन व्यवसाय तथा व्यापारको युगमा प्रवेश भइसकेको जोकोहीलाई सिक्लेस आइपुग्दा भान हुन्छ ।

मादी गाउँपालिकाको यो १२ वटै वडामध्ये सबैभन्दा ठूलो गाउँ हो सिक्लेस । यसै वर्ष सिक्लेस नेपाल सरकारबाट सांस्कृतिक गाउँको साथै पर्यटकीय गाउँ/क्षेत्र घोषणा भइसकेको छ । गुरुङहरुको एक ऐतिहासिक र रमणीय पर्यटकीय गाउँको रुपमा पनि चिनिन्छ सिक्लेस । सिक्लेस गाउँ सामुन्द्रिक सतहदेखि २ हजार मिटरको उचाईमा रहेको छ । गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रीतिथिति, रहनसहन, भेषभूषाजस्ता सामाजिक मूल्य मान्यतामा आधारित समाजको अभ्यास नै सिक्लेस गाउँको विशेषता मान्न सकिन्छ ।

ठुला–ठुला चौर झाडी, पहाड, पखेरो झरना, छाँगा, नदी नाला, हिमश्रृखला, हरिया बनजंगल र मौसमी फूलहरु जस्ता प्राकृतिक सम्पदाले सिक्लेसलाई सजाउदै विश्वसामु चिनाएको छ । यसैगरी परम्परागत सामाजिक संरचना, मौलिक, भेषभुषा, खानपिन, सामाजिक र कृषि संगठन, खेती किसान र पशुपालन पनि सिक्लेसको लागि उत्तिकै मजबुत र सिक्लेस गाउँको वरिपरि चारैतिर विभिन्न सिमिभूमि, देवीदेउराली तथा पूजणीय स्थलहरु छन् भने ह्येउरा सिमिभूमि यहाँको मूल प्राकृतिक पूजा स्थान हो ।

पोखरादेखि हिडेर कम्तीमा एकदिन लाग्ने सिक्लेस जान अहिले दुई वटा छुट्टाछुट्टै गाडीको बाटो भएर पनि जान सकिन्छ । सिक्लेसको दक्षिणतिर अर्को रमाइलो र सुन्दर गाउँ ताङतिङ, पश्चिमतिर पार्चे, खिलाङ्ग, तप्राङ्ग, उत्तरतिर विशाल अन्नपूर्ण हिमश्रृखला र पूर्वतिर कोरी, म्ह्युच्या, फुँलूँजस्ता खुला खर्कका साथै गुरुङ समूदायकै ऐतिहासिक र पूरातात्विक राज्य क्होला सोंथर पर्दछ ।

प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ । पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४ सय ५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति/समुदायमा गुरुङको संख्या बाहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन् ।

 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »