लन्डन । तमुधीं यूकेले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को डिनर नाइटमा पौने २ लाख रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ ।
आइतबार, ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित डिनर नाइटमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमला देवी गुरुङले संस्थागत रुपमा १ हजार पाउन्ड (आइतबारको बजार भाउअनुसार नेपाली रुपैयाँ १ लाख ८६ हजार) सहयोग दिएका हुन् । त्यस क्रममा तमुधीं यूकेका उपाध्यक्ष तथा व्यवसायी कमल गुरुङ र व्यवसायी सूर्य गुरुङले १/१ सय पाउन्ड सहयोग गरे । 
बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले च्यारिटीका लागि सहयोग गरेका थिए । अध्यक्ष मेजर योगेश राईले संस्थाको जग्गा लिजमा लिने र भविष्यमा जग्गा किन्नेसम्मको योजनाका लागि डिनर नाइट आयोजना गरेको जानकारी दिए ।
कार्यक्रम महासचिव फ्रमबहादुर दुराको सञ्चालन गरेका थिए । कार्यक्रम संयोजक मेजर (रिटायर्ड) इन्द्रप्रसाद राईले स्वागत मन्तव्य राखेका थिए ।
कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुन, सहिमा श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएर माहोललाई रमाइलो बनाएका थिए ।



