लण्डन
मिचेट । गत शनिबार मिचेटस्थित तमुधिं यूकेको तमु भवनमा सम्पन्न साधारणसभाले वर्तमान उपाध्यक्ष ज्ञाम गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको छ । त्यस्तै, वर्तमान उपाध्यक्ष नन्दजङ्ग गुरुङ र सल्लाहकारमा हितकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षका लागि उम्मेदवारी दिएका वर्तमान महासचिव हरि गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, मन्जु गुरुङ र पुनम गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै महासचिवमा कृष्ण गुरुङ, सचिवमा तुलाराम गुरुङ, कोषाध्यक्षमा दिपक गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ निर्विरोध भएका छन् । महासचिव कृष्ण गुरुङ यसभन्दा अघि सचिवमा थिए भने सचिव तुलाराम गुरुङ लमजुङ समाज यूकेका पूर्वअध्यक्ष हुन् भने कोषाध्यक्ष दिपक गुरुङ आठौं कार्यसमितिमा सहकोषाध्यक्षको भूमिकामा थिए ।
साधारणसभाले सांस्कृतिक सचिवमा कृष्ण गुरुङ, प्रोेपर्टी सचिवमा लैन्चकुमार गुरुङ, खेलकुद सचिवमा क्या. पिताम्बर गुरुङ, प्रवक्ता एवं मिडिया सेक्रेटरीमा रोहित गुरुङ, वेभमा सविन्द्रकुमार गुरुङ र मान गुरुङ र फोटोग्राफरमा मिलन तमुलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सिरी गुरुङ, बुद्धि गुरुङ, नरेश गुरुङ, बुद्ध घले, भरत गुरुङ, इन्द्र गुरुङ, राजेन्द्र गुरुङ, ललित गुरुङ, दिपेन्द्र गुरुङ, दिपक गुरुङ, एम कुमार गुरुङ, नमरजङ्ग गुरुङ, श्री गुरुङ र नरप्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङको संयोजकत्वमा क्या.रि. तिर्थमान गुरुङ र हरिकुमार (काजी) गुरुङ सदस्य रहेको निर्वाचन समितिले निर्वाचन तालिकाअनुसार निर्वाचन सम्पन्न गराएका थिए । साधारणसभालाई तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र आमा समूहकी अध्यक्ष पवित्र गुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
साधारणसभामा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष मे.रि. डमर घले एमविई, मे.रि. लालबहादुर गुरुङ, सुवासिं गुरुङ, मुछेत्र गुरुङ र कमल गुरुङले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, साधारणसभामा केन्ट इकाईका अध्यक्ष क्या.रि. सूर्यप्रकाश गुरुङ, साउथ ईष्ट क्षेत्रीय तमुधिं प्लमस्टिडका अध्यक्ष श्रीचन्द्र गुरुङ, लण्डन इकाईका अध्यक्ष दिपक (डेविड) गुरुङ, सर्रे हेमसायर इकाईका अध्यक्ष उत्तर गुरुङ, वकिङ्ग इकाईका अध्यक्ष शेरकाजी गुरुङ र चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मे.रि. कृष्ण गुरुङले आ–आफ्नो इकाईको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
तमुधिं यूकेका साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रोपर्टी सेक्रेटरी, कोषाध्यक्ष र महासचिवले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष ज्ञाम गुरुङले तमुहरुको महान् पर्व ल्होछारको बारेमा, क्या.रि. राजु गुरुङले तमु संस्कार तथा संस्कृतिको बारेमा र युवा संयोजक शक्तिमान गुरुङले युवाहरुको भूमिकाको बारेमा बोलेका थिए । त्यस्तै आमा समूहकी अध्यक्ष पवित्र गुरुङ, लण्डन इकाईकी होमकुमारी गुरुङ र समाजसेवी नन्दकुमारी गुरुङले पनि आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले सबैको साथ र सहयोगले आपूmले प्रतिबद्ध गरेका केही मुद्दाहरु पूरा गरिएको बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, आमा समूह, युवा र अग्रजहरुमा हार्दिक धन्यवाद दिँदै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
पहिलो चरणको कार्यक्रमपश्चात् निर्वाचन समितिले निर्वाचन प्रकृयालाई अगाडि बढाएका थिए । सो अवसरमा साधारणसभामा भाग लिइरहेका सदस्यहरुले आगामी नेतृत्व चयनका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । सो क्रममा वर्तमान महासचिव हरि गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, मन्जु गुरुङ र पुनम गुरुङले संस्थाको बृहत्तर हितका लागि आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सो पश्चात् निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले तमुधिं यूकेको नवौं कार्यसमितिको सबै पदमा निर्विरोध भएको जानकारी गराउँदै नयाँ कार्यसमितिको नाम सुनाएका थिए ।
त्यस्तै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सदस्य क्या.रि. तिर्थमान गुरुङले खादा लगाइदिएका थिए भने सदस्य हरिकुमार (काजी) गुरुङले सपथ गराएका थिए । सो अवसरमा तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङले छोटो मन्तब्यको क्रममा सबैलाई धन्यवाद दिँदै नवौं कार्यसमितिले ल्होछारको दिनमा हुने हेन्ड ओभर र टेक ओभरकामा भावी कार्यक्रम घोषणा गर्ने बताए । निर्वाचन समितिलाई रामकुमार गुरुङ र पूर्ण गुरुङले सघाएका थिए ।
तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
को हुन् ज्ञाम गुरुङ
नेपाली समुदाय बेलायतमा ज्ञाम गुरुङको नाम नौलो होइन् । तमुधिं यूके, चारभञ्ज्याङ्ग तमु समाज, पर्वत वेलफेयर सोसाईटी भन्नेबित्तिकै उनको नाम अग्रपंक्ति आउने गर्दछ । तमुधिं यूकेको सचिव, महासचिव, दुई कार्यकाल उपाध्यक्षको सफल जिम्मेवारीपछि उनी तमुधिं यूकेको नवौं कार्यसमितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी तमुधिं यूके सँगसँगै एनआरएनए यूके, यती एसोसिएसन यूके, सहारा यूके, पर्वत वेलफेयर सोसाईटी यूके र चारभञ्ज्याङ्ग तमु समाज यूकेमा पनि त्यत्तिकै सक्रिय देखिन्छन् ।
पर्वत जिल्लाको चारभञ्ज्याङ्गमा जन्मे हुर्केका ज्ञाम गुरुङ पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । अध्ययनकै क्रममा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका गुरुङले सेनाबाट अवकाश लिएपछि बेलायतमै आफ्नै ट्राभल एवं मनी ट्रान्सफर व्यवसाय सञ्चालन गर्दै आएका छन् । आफ्नो व्यवसाय सँगसँगै एभरेष्ट टाइम्स मिडियामा समेत संलग्न रहेका गुरुङले समाज सेवामा पनि त्यत्तिकै समय दिँदै आएका छन् । अत्यन्त मेहनती र सरल स्वभावका गुरुङ हाल श्रीमती प्रेमा गुरुङ र छोराछोरीसँग फोक्स्टोन, केन्टमा बस्छन् ।



