रेडिङ । गत शनिबार ३१ डिसेम्बर २०१६ का दिन तमुधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा बेलायतमा रहेका तमू अर्थात् गुरुङहरुले हर्षोल्लासका साथ ल्होछार मनाएका छन् । यसवर्ष गुरुङहरुले ‘प्र’ ल्हो अर्थात् बाँदर बर्गको बिदाई र ‘च्ह्य’ ल्हो अर्थात् चरा बर्गको स्वागत गरे । तमुहरुको महान् पर्वको रुपमा रहेको ल्होछार कार्यक्रमलाई नेपाली दूतावास लण्डनका राजदूत एवं प्रमुख अतिथि डा. दुर्गाबहादुर सुवेदी, बिशेष अतिथि प्राध्यापक डाक्टर जगमान गुरुङ, तमूधिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ र तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले ल्होछार गुरुङहरुको पर्व मात्र नभइ समस्त नेपालीहरुको राष्ट्रिय पर्व भएको बताउँदै गुरुङहरुको संस्कार र संस्कृतिले नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा विश्वभर बढाएको बताए । उनले हाम्रो शास्त्र, संस्कृति, सत्कार, अस्तित्व र पहिचानलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । साथै, उनले तमूधिं यूकेले आयोजना गर्दै आएको नेपाली मेलालाई नेपाली दूतावास लण्डनले सहकार्य गर्दै आएको स्मरण गर्दै नेपाली मेलाले सबै जातजातिलाई एकताको सुत्रमा बाध्दै एकअर्कामा समझदारी र मित्रतामा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपाली दूतावासले आगामी दिनहरुमा पनि तमूधिंसँग सहकार्य, सहयोग र साथ दिने विश्वास व्यक्त गरे । त्यस्तै बिशेष अतिथि डा. गुरुङले पुरानो सम्पदाहरु लोप हुँदै गइरहेको अवस्थामा पुरानो सम्पदाहरुलाई गुरुङहरुले जोगाएर राखेकोमा गौरव व्यक्त गरे । साथै, उनले धेरै वर्षदेखि नै गुरुङले आफ्नो पहिचान कायम गर्दै आएको स्मरण गर्दै अब गुरुङहरुले नेपालको विकासमा अग्रता लिनुपर्नेमा जोड दिए ।
धार्मिक आस्था
ल्होछार धार्मिक आस्थासँग पनि जोडिएको पर्व हो । उक्त ल्हो (बर्ग) फेरिने दिन तमुहरुले आफ्नो परम्परानुसार धार्मिक पूजापाठ गरी धर्मगुरुसँग आशीर्वाद लिने प्रचलन छ । देशविदेशमान बसोबास गर्ने गुरुङहरुले यसवर्ष ‘प्र’ ल्हो अर्थात् बाँदर बर्गको बिदाई र ‘च्ह्य’ ल्हो अर्थात् चरा बर्गको स्वागत गरेको छ । स्मरण रहोस् सोही प्रचलनअनुसार तमुधिं यूकेले गत ३० डिसेम्बर २०१६ अर्थात् २०७३ पुस १५ का दिन अल्डरसटस्थित बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेको बौद्ध गुम्बा परिसरभित्र धार्मिक पूजापाठको आयोजना गरेको थियो । सो दिन उक्त गुम्बाका र नेपालबाट आएका बौद्ध धर्मगुरुहरुले धार्मिक प्रवचन दिएका थिए । सो अवसरमा बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने तमुहरुको बाक्लो उपस्थिति रहेको थियो । तमुधिं यूकेका सल्लाहकार तथा बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेका उपाध्यक्ष एवं पूजा संयोजक हर्क गुरुङ, उपसंयोजक ले.रि. कुसाङ गुरुङ लगायतले पूजा कार्यक्रमको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
सांगीतिक माहौल
युवाहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त ल्होछार साँझमा अतिथिहरुको मन्तब्य पश्चात रिभरमेड लिजर सेन्टर सांगीतिक माहौलमा परिणत भएको थियो । शुभकामना गीतबाट शुभारम्भ भएको सांगीतिक माहौलमा नेपालबाट आएका गण्डकी तारा बन्न सफल गायक मनोज गुरुङ र अत्यन्त सुरिलो स्वरकी धनी मिलन अमात्यले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए । त्यस्तै गायिका सम्झना लामिछाने मगर, गायक मनसुदन थापा र बिग आइकन साजन आलेले पनि विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए । रेडिङ तमु समाज, लमजुङ्ग समाज यूके र स्थानीय नेपाली कलाकारहरुले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए । सो अवसरमा कुशल श्रेष्ठद्वारा छांयाकन गरिएको नेपाली मेलाको गीत सार्वजनिक पनि गरियो । उक्त सांगीतिक कार्यक्रमको सूर्य गुरुङ र सञ्जु घलेले संयुक्त रुपमा संचालन गरेका थिए भने सांस्कृतिक सचिव कृष्ण गुरुङले सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
डा. हर्क गुरुङ अवार्ड तथा सम्मान
युवाहरु सँगसँगै जेष्ठ नागरिकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा बेलायतमा अध्ययनरत तमु विद्यार्थीहरुमध्ये हालै जिसीएसई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका सुजल गुरुङ (नाईन ए स्टार, ए वान) र ए लेभलमा उत्कृष्ट अंक ल्याएकी नम्रता गुरुङ (थ्री ए) लाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली राजदूत डा. सुवेदीले प्रमाण पत्र र चेक प्रदान गरेका थिए । त्यस्तै, विभिन्न विषयमा उच्च शिक्षामा उत्कृष्ट अंक ल्याउन सफल नविन गुरुङ, भुवन गुरुङ, विभास गुरुङ, लिलाजङ्ग गुरुङ, सायरा गुरुङ, सिमान्त गुरुङ र प्रतिमा गुरुङलाई बिशेष अतिथि प्राज्ञ जगमान गुरुङले प्रमाणपत्रसहित खादा लगाई बधाई दिएका थिए । तमुधिं यूकेका सल्लाहकार एवं डा. हर्क गुरुङ अवार्ड मूल्यांकन समितिका संयोजक हरिकुमार (काजी) गुरुङले धेरैजना विद्यार्थीहरुले अवार्डका लागि आवेदन दिएको बताउँदै बढी अंक ल्याएका विद्यार्थीहरुको बारेमा छोटो जानकारी दिएका थिए । उक्त अवार्ड मूल्यांकन समितिमा भूपू प्रअ एकेन्द्र गुरुङ, क्या.रि. राजु गुरुङ र क्या.रि. तिर्थमान गुरुङ रहेका थिए ।
त्यसैगरी तमुधिं यूकेलाई महत्वपूर्ण समय र योगदान दिँदै आएका फोटोग्राफर मिलन तमू, वेभमास्टर सविन्द्रकुमार गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ र महासचिव हरि गुरुङलाई आठौं कार्यसमितिका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले फेटा लगाई सम्मान गरेका थिए । त्यस्तै, तमूधिं यूकेको विभिन्न इकाईमा रहेर संस्थालाई महत्वपूर्ण योगदान दिँदै आएका दिलमाया गुरुङ, चेतप्रसाद गुरुङ, ज्ञानकाजी गुरुङ, मञ्जु गुरुङ राई, हिराप्रसाद गुरुङ, गणेश गुरुङ, कमला गुरुङ र थमन गुरुङलाई बिशेष अतिथि डा. गुरुङले प्रमाणपत्रसहित खादा लगाई बधाई दिए ।
बार्षिक मुख पत्र फ्रेंसीको विमोचन
तमुधिं यूकेको बार्षिक मुख पत्रको रुपमा गत १४ वर्षदेखि प्रत्येक वर्ष ल्होछारकै दिन प्रकाशन गरिँदै आएको ‘फ्रेंसी’ को प्रमुख अतिथि डा. सुवेदी, विशेष अतिथि डा. गुरुङ, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ र फ्रेंसीका प्रधान सम्पादक रोहित गुरुङले सो मुखपत्रको विमोचन गरेका थिए । सो अवसरमा फ्रेंसीका प्रधान सम्पादक लगायत सम्पादकहरुलाई अध्यक्ष गुरुङले खादा लगाई धन्यवाद ज्ञापन गरेका थिए ।
नयाँ कार्यसमितिद्वारा कार्यभार ग्रहण
तमूधिं यूकेको गत १९ नोभेम्बर २०१६ का दिन सम्पन्न भएको अधिवेशनले आगामी दुई वर्षका लागि ज्ञाम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिले सोही ल्होछारको दिनदेखि आगामी दुई वर्षका लागि आफ्नो कार्यभार लिएको छ । सो अवसरमा नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङले आउने वर्ष बेलायतमा रहेका तमूहरुले सामूहिक रुपमा ल्होछार मनाउन आपूmले पहल गर्ने बताउँदै तमूधिं यूकेले केही नयाँ काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभारसहित धन्यवाद प्रकट गर्दै नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरे ।
धर्मगुरु घागर रिन्पोछे, एनआरएन आईसीसी यूरोप संयोजक कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङलगायत बौद्धधर्मगुरुहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, तमूधिं यूकेको आजीवन सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार र संचारकर्मीहरुको बिशेष उपस्थिति रहेको सो ल्होछार कार्यक्रममा तमुधिं यूकेका सचिव कृष्ण गुरुङले पाहुनाहरुको स्वागत, रेडिङ तमु समाजका निवर्तमान अध्यक्ष कृष्ण गुरुङले कार्यक्रमको सहसंयोजन, सपन इन्टरटेन्टमेंनका सपन कुमार राईले साउण्ड सिस्टम, मिलन तमू, शंकर गुरुङ, कृष्ण गुरुङ, ओमकार गुरुङ र सविन्द्र कुमार गुरुङले फोटो तथा भिडियोग्राफी गरेका थिए ।
बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कोषाध्यक्ष जुमकाजी गुरुङ र आमा समूहले प्रवेशद्वारमा टिकट व्यवस्थापन गरेका थिए भने दर्शकहरुले लिएको टिकटको आधारमा राफल ड्र गरिएको थियो । उक्त राफल ड्रको तमुधिं यूकेका पूर्व सदस्य कुमार गुरुङले संयोजन गरेका थिए ।
तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षता र उपाध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त ल्होछार कार्यक्रममा सहसंयोजक कृष्ण बहादुर गुरुङले स्वागत मन्तब्य, क्याप्टेन सूर्यप्रकाश गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए भने महासचिव हरि गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।



