लन्डन ४ जनवरी २०२३ । तमुधिं यूकेको आयोजनामा तमुहरुको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पाएर हलमा गत डिसेम्बर ३१ तारिख २०२२ का दिन विविध कार्यक्रमसहित तमुधिं यूकेले ल्होछार कार्यक्रम मनाएको हो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा कार्यसमिति र आमा समूहको सहकार्य रहेको यो २२औं ल्होछार कार्यक्रममा हल खचाखच भरिएको थियो भने बालकुनीसमेत खाली थिएन ।
संस्थाका अध्यक्ष हित काजी गुरुङको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा विशेष अतिथिमा उपनियोग प्रमुख प्रमुख रोशन खनालसहित विभिन्न संघ संस्थाका अध्यक्षहरु, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु, काउन्सिलरहरु, धर्मगुरुहरु, संस्थाका ट्रस्टीहरु, भूपू अध्यक्षहरु र मिडियाकर्मीहरु, आजीवन सदस्यहरु र ग़ैर सदस्यहरुको बाग्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि, राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथि उपनियोग प्रमुख रोशन खनाल, अध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहका अध्यक्ष मन्जु सीता गुरुङ, एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, नवनिर्वाचित अध्यक्ष हरि गुरुङबाट संयुक्तरूपमा दिप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
नेपाल, बेलायत र तमुहरुको राष्ट्रिय गान गुन्जिएको बेला कलाकारहरु र साना नानीहरु आफ्नै पहिरनमा स्टेजमा सरिक भएको माहोलले गौरवको क्षण आभास भएको थियो ।
प्रत्येक वर्ष प्रकाशन गरिने तमुहरुको मुखपत्र “फ्रेंसी” को विमोचन गरिएको थियो भने बेलायत बासी तमु समुदायभित्रका अब्बल विद्यार्थीमध्येकालाई दिइने स्व. डा. हर्क अवार्ड यसपटक स्मृति गुरुङले हात पारिन् । उनी मोतीप्रसाद गुरुङ र लक्ष्मी गुरुङका कान्छी सुपुत्री हुन् । स्मृतिले वालिंगफ़ोर्ड स्कूलबाट “जेनरल सर्टिफिकेट अफ सेकेन्डरी ऐज्यूकेसनको” नतिजामा ११ वटा “ए स्टार” प्राप्त गरेकी थिइन् ।
तमुधिं इकाईहरुमा उल्लेखनीय योगदान दिए बापत उनीहरुको योगदानलाई कदर गर्दै “कम्युनिटी सर्भिस अवार्ड” अध्यक्ष हित काजी गुरुङ र राजदूतको हातबाट विकाश गुरुङ, देवकला गुरुङ (तमुधिं लन्डन ब्रान्च), विनोद गुरुङ, भुवानीप्रसाद गुरुङ बीईएम (Hampshire Branch) बाट मायारानी गुरुङ, मनिता घले (SERTD)बाट र लक्ष्मी गुरुङ र शान्ति (CBTS UK)गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले विदेशी भूमिमा रहेर पनि आफ्नो मातृभूमिको संस्कार, संस्कृति भेषभुषाको संरक्षण र सम्बर्धन गर्ने प्रयास गरेको र सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई समेटेर नेपाली मेला, गोर्खा कपजस्ता बृहत् भेलाहरु सफलताका साथ सम्पन्न गरेको तमुधिं यूकेले सराहनीय काम गरेको छ भन्दै ल्होछारको शुभकामना व्यक्त गरेका थिए । यस कार्यक्रमको पृथक् पक्ष वयोवृद्धद्वय मायारानी गुरुङ (८२) र लक्ष्मी गुरुङ (८४) ले तमुधिंप्रति आफ्नो इकाई र तमुधिं यूकेलाई पुर्याएको योगदान प्रति राजदूतले प्रशंसा गरेका थिए ।
गत डिसेम्बर २६ तारिख आयोजना गरिएको १२औं अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको थियो । यसै ल्होछार कार्यक्रममा पुरानो र नयाँ कार्यसमितिबीच कार्यभारको हस्तान्तरण पनि गरिएको थियो । निर्वाचित अध्यक्ष हरि गुरुङ र अध्यक्ष हित काजी गुरुङ दुवैले मन्तव्य राखेका थिए । हित काजीले बोल्ने क्रममा भने, ‘नवनिर्वचित अध्यक्ष हरि गुरुङ तमुधिंका लागि अतियोग्य व्यक्ति हुन् । जसरी सबैजनाले मलाई सहयोग गर्नुभयो त्यसरी नै नबनिर्वाचित अध्यक्ष हरि गुरुँगलाई पनि दिनु होला भन्नु भयो । मेरो कार्यकालमा संस्थाका हितका लागि कहिलेकाहीं मैले भनेको भनेको जस्तो कामहरु पूरा गर्न सकिनँ हूँला । मेरो विवेक र विचार चलाएर सबैका भलोका लागि निर्णय गरेँ होला । कति साथीहरुलाई मन दुखाएँ होला । सबै मैले तमुधिंकै हितको लागि गरेको थिएँ । कतै गल्ती भएछ भने माफ गरिदिनहुन अनुरोध गर्दछु ।’
उनले प्रत्येक कार्यक्रमहरुमा प्रयोजन गर्ने मनकारी व्यवसायी साथीहरु, आमा टोली इकाईका साथीहरु र कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूलाई निरन्तर सहयोग गरिरहने श्रीमती सीता र छोरीलाई पनि धन्यवाद दिए ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा रमाइला नृत्यहरु प्रस्तुत भएका थिए । तमुधिं इकाईहरुबाट स्थानीय नृत्यहरुको प्रस्तुति धेरैले मन पराएको देखिन्थ्यो । लन्डन इकाई, रिडिङ तमु समाज, घान्द्रुक समाजको प्रस्तुति राम्रो रहेको सहभागीको प्रतिक्रिया थियो ।
नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङले गुरुङ तथा नेपाली भाषाका लोकभाका अनि दोहोरी गीतको बेजोड़ प्रस्तुतिले सबैलाई रमझम बनाए, नचाए । नायिका लक्ष्मी गुरुङको उच्चस्तरको नृत्यले सुनमा सुगन्ध थपेकी थिइन् । सूर्य गुरुङ, विभा गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङको उद्घोषणले सबैजनालाई मनमोहक नै बनाएका थिए ।
कार्यक्रमको अर्को आकर्षण भाग्योदय चिठ्ठा रहेको थियो जसमा पहिलो पुरस्कार एक तोला सुन र दोस्रो आधा तोला थियो । न्यू लक्ष्मी ज्वेलर्सका प्रबन्धक लक्ष्मी राई र पेपरवर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले क्रमशः एकतोला र आधा तोला सुन प्रायोजन गरेका थिए । चिठ्ठाको पहिलो विजेता लमजुँग समाजका निबर्तमान अध्यक्ष विश्वजङ्ग गुरुङले प्रथम पुरस्कार एकतोला सुन हात पारेका थिए ।
१५ पाउन्डमा खानासहित र आजीवन सदस्यहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको यो भब्य कार्यक्रमलाई धेरैले प्रशंसा गरेका थिए । ठीक मध्यरातमा स्याम्पेन फोरेर अंग्रेजी नयाँ वर्षलाई भव्य स्वागत गरी कार्यक्रम समापन भएको थियो ।
यस कार्यक्रममा एम्पायर हलका प्रबन्धक पुरन गिरीले खानाको व्यवस्था गरेका थिए भने साउन्ड सिस्टम, सपन इन्टरटेन्टमेन्टका प्रबन्धक सपन राईले व्यवस्था गरेका थिए । भिडियोग्राफीमा मिडिया सेक्रेटरी एसके गुरुङ र फोटोग्राफीमा गोर्खा मिडियाका प्रबन्धक निर्देशक मिलन तमु थिए । तमुधिं यूकेका महासचिव (नवनिर्वाचित उपाध्यक्ष परशु गुरुङ)ले कार्यक्रम संचालन गरेका थिए
को हुन् हरि गुरुङ ?
२६ डिसेम्बर २०२२ को अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष हरि गुरुङको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । हरि गुरुङको जन्म विक्रम सम्वत २०२१ सालमा ठाना मौला फलेवास नगरपालिका पर्वतमा भएको हो । वहाँको बुवाको नाम स्व. सुवेदार भिम बहादुर गुरुङ र आमाको नाम श्रीमती लक्ष्मी गुरुङ हो । वहाँले परोपकार माध्यमिक विद्यालय काठमाण्डौंबाट एस.एल.सी. गर्नु भएको थियो भने पृथ्वी नारायण क्याम्पस पोखराबाट वाणिज्य शास्त्रमा स्नातक गर्नु भएको छ । त्यसरी नै वहाँले होटेल मेनेजमेन्टमा र सेक्युरिटी सिस्टममा डिप्लोमा गर्नु भएको छ । र सिटी एण्ड गिल्डसबाट मेकानिकल इन्जिनियर्स गर्नु भएको छ । हाल वहाँ रोयल स्कुल अफ मिलिटी इन्जिनियरिङको प्रशिक्षकमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीकाल देखि नै वहाँ कुनै न कुनै निहुँमा समाज सेवामा संलग्न हुनुहुन्थ्यो । विद्यार्थीको हक र हितको लागि जहिले पनि अग्रसर भएर काम गर्नु हुन्थ्यो । गाउँ घरको परम्परा र संस्कृति अध्ययनमा रुचि राख्नुहुन्थ्यो । गुरुङको संस्कार संस्कृतिको संरक्षणमा विद्यार्थी जिवनदेखि नै सकृय र कृयाशिल हुनुहुन्थ्यो ।
समाज सेवा गर्ने हुट हुटी हुँदा हुदै पनि वहाँ १९८८ मा ब्रिटिश सेनामा भर्ती हुनुभयो । ब्रिटिश सेनामा १७ वर्ष सेवा गरे पश्चात २००५ मा वहाँ सेवा निवृत्त हुनुभयो । अनि वहाँ समाजसेवामा लाग्नु भयो । वहाँ तमू धीं युकेको आजीवन सदस्य, सचिव, महासचिव दुई कार्यकाल उपाध्यक्षमा रहेर सेवा गर्नु भएको छ । त्यसरी नै वहाँ अरु संस्थाहरुमा पनि त्यतिकै सकृय भएर काम गर्नु भएको छ । मेडस्टोन नेपाली समाज युकेको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । त्यस अलावा वहाँ गैह्र आवशिय नेपाली संघ युके, सहारा युके, मेडस्टोन नेपाली समाज युके, चार भञ्ज्याङ अन्र्तराष्ट्रिय समन्वय समितिमा सल्लाहकारमा हुनुहुन्छ । त्यसै गरि तमू धीं नेपाल, वि.सि.सि. केन्ट, बुद्धिस्ट गुम्बा रिडिङ्ग र डायमन्ड बुद्धिस्ट सेन्टरको ट्रष्टीज हुनुहुन्छ । बेलायतमा गुरुङको भाषा, संस्कार, संस्कृति र इतिहास लेखिरहेको संस्था तमु फोरम युकेको सह निर्देशक हुनुहुन्छ । संस्कृति, इतिहासको अध्ययनमा विशेष रुची राख्ने वहाँ हरि गुरुङ श्रीमती सन्ध्या गुरुङ र छोरा छोरीको साथ बेलायत केन्टमा बस्नुहुन्छ ।



