कुलमान घिसिङलाई तमु धीं यूकेको आफ्नै घर मिचेटमा यसरी गरियो स्वागत

मिचेट । बेलायत भ्रमणमा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई तमु धीं यूकेले आफ्नै भवनमा भव्य रूपमा स्वागत गरेको छ । घिसिङलाई मिचेटस्थित द तमु नेप्लिज कम्युनिटी सेन्टरमा स्वागत गरिएको हो ।

कार्यक्रममा करिब ७० जना उपस्थित थिए । घिसिङलाई सुरुमा ब्याक पाइपको धुनसँगै हलमा प्रवेश गराइएको थियो । त्यसपछि कार्यक्रम सञ्चालन संस्थाका महासचिव डा. विशाल गुरुङले गरेका थिए ।

प्रमुख अतिथि घिसिङ र संस्थाका अध्यक्ष जुमकाजी गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम आरम्भ गरेका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए । सो अवसरमा स्वागतका लागि केक पनि काटिएको थियो ।

कार्यक्रममा कार्य समितिका सदस्य, तमु धीं आमा समूहका अध्यक्ष कमला गुरुङ र अन्य पदाधिकारी, तमु धीं यूके ब्रान्चका अध्यक्ष, संस्थापक अध्यक्ष, भुपू अध्यक्ष, ट्रस्टी, सल्लाहकार तथा तमु धींसँग आबद्ध अन्य समाजका पदाधिकारी र सदस्य उपस्थित थिए ।

कलाकार पवित्र गुरुङ र अस्मिता पुरीसहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार पनि उपस्थित थिए । कुलमान तमु धीं यूकेको निमन्त्रणामा १६औँ नेपाली मेलाका लागि बेलायत आएका हुन् । 

कुलमानलाई बेलायत ल्याउन विशेष पहल गरेका व्यवसायीद्वय मोहन गुरुङ र अलेन पाण्डेलाई अध्यक्ष गुरुङले विशेष धन्यवाद दिए ।

कुलमानले स्वागतका लागि धन्यवाद दिँदै १९ वर्ष पहिले बेलायत आएको सम्झना गर्दै झन्डै ४० मिनेटसम्म बोलेका थिए ।  सो क्रममा उनले विद्युत् प्राधिकरणमा रहँदाको अनुभव र उज्यालो नेपाल अभियानबारे बारे चर्चा गरेका थिए । 

नेपाललाई संसारमा चिनाउने वीर गोर्खा समुदायको घरमा आउन पाउँदा गर्व महसुस भएको घिसिङले बताए । हाल नेपालमा जीडीपीको २७ प्रतिशत रेमिट्यान्सले धानिरहेको उल्लेख गर्दै उनले देश निर्माणका लागि विदेश बस्ने नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

प्रश्नोत्तर कार्यक्रम पनि रहेको थियो । सहभागीले घिसिङलाई विभिन्न प्रश्नहरू राखेका थिए । अन्त्यमा तमु धीं यूकेका अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे । 

सोमबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका घिसिङलाई अध्यक्ष गुरुङ नेतृत्वको टोलीले विमानस्थलमै पुगेर पनि स्वागत गरेको थियो ।

घिसिङ अगस्ट २४ मा आयोजना हुन लागेको १६औँ नेपाली मेलामा विशेष अतिथिका रूपमा सहभागी  हुनेछन् । बेलायतमा रहँदा उनले अरू विभिन्न नेपाली संघसंस्था र समुदायसँगसमेत भेटघाट अन्तरक्रिया गर्ने तालिका छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »