१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार मेलामा बेलायतभरिबाट १० हजारभन्दा बढी नेपालीको सहभागिता रहेको थियो,

तमु धीं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजित मेलाले नेपाली कला, संस्कृति, परम्परा र विविधतासँगै सामुदायिक एकता र मानवीय सेवाको सन्देशसमेत प्रस्तुत गरेको थियो। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आयोजित मेलामा विभिन्न जातजाति, समुदाय र क्षेत्रका मौलिक संस्कृति झल्काउने झाँकी, नृत्य र सांगीतिक प्रस्तुतिले दिनभर केम्पटन पार्कलाई नेपालमय बनाएको थियो।

मेलाको अध्यक्षता तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले गरेका थिए भने कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले गरेका थिए। मेलालाई व्यवस्थित र सफल बनाउन तमु धीं यूकेको कार्यसमिति, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङसहित करिब २०० स्वयंसेवक सक्रिय रूपमा परिचालित भएका थिए।

बाढीपहिरो पीडितका लागि सहयोग

यस वर्षको नेपाली मेलाको विशेष पक्ष नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुटाउनु रह्यो।

मेलाको दिन मात्रै £५,११३.३२ संकलन भएको आयोजकले जनाएको छ। मेलाबाट हुने सम्पूर्ण बचत रकम विपद् प्रभावितका लागि उपलब्ध गराउने घोषणा यसअघि नै गरिएको थियो।

मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट संकलित रकममा तमु धीं यूकेको खातामा रहेको रकमसमेत थप गरी तत्काल नेपाल पठाइनेछ। उनले विपद् प्रभावितका लागि सहयोग संकलन अभियान मेलासँगै समाप्त नहुने र तमु धीं यूकेले आगामी दिनमा पनि निरन्तर सहयोग जुटाउने बताए।

नेपालमा बाढी तथा पहिरोका कारण जनधनको क्षति भइरहेका बेला विदेशमा रहेका नेपाली समुदायले मातृभूमिप्रतिको दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै गुरुङले नेपाली मेला मनोरञ्जन र संस्कृतिको उत्सव मात्र नभई विपद्का बेला नेपालसँग जोडिने माध्यमसमेत भएको बताए।

४२ संस्थाको झाँकी, २१ समूहको नृत्य

मेलाको प्रमुख आकर्षण विभिन्न नेपाली संघसंस्थाले प्रस्तुत गरेका झाँकी तथा सांस्कृतिक नृत्य रहे। बेलायतभरिका ४२ नेपाली संघसंस्थाले झाँकी प्रस्तुत गरेका थिए भने २१ समूहले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए।

विभिन्न समुदायका मौलिक भेषभूषा, संस्कृति, परम्परा र पहिचान झल्काउने झाँकीले नेपाली समाजको विविधतालाई आकर्षक रूपमा प्रस्तुत गरेका थिए।

झाँकी प्रतियोगिताको निर्णायक मण्डलमा नेपालबाट आएका राजु गुरुङ, दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई र श्रीजना सुब्बा रहेका थिए।

त्यस्तै, नृत्य प्रतियोगिताका निर्णायकमा नेपालबाट आएका कलाकार रजनी गुरुङ (मंगली) र लक्ष्मी गुरुङ तथा बेलायतका नृत्य तथा कोरियोग्राफी क्षेत्रका कविता घर्तीमगर गुरुङ र कर्म पहाडी शेर्पा रहेका थिए। झाँकी तथा नृत्य कार्यक्रमको समन्वय एकेन्द्र गुरुङले गरेका थिए।

पासा पुचः गुठी यूकेलाई तेस्रो पटक एम्बासडर कप

यस वर्षको एम्बासडर कप २०२६ झाँकी र नृत्य दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेको पासा पुचः गुठी यूकेले जितेको छ। यो उसको एम्बासडर कपमा तेस्रो सफलता हो।

एम्बासडर कपतर्फ:

  • प्रथम — पासा पुचः गुठी यूके
  • द्वितीय — मगर संघ यूके
  • तृतीय — किरात राई यायोक्खा यूके

यस वर्ष एम्बासडर कपको प्रथम पुरस्कार राशि बढाएर £१,५०० पुर्‍याइएको थियो। प्रथम रनरअपले £७०० र द्वितीय रनरअपले £५०० प्राप्त गरे।

पुरस्कारका प्रायोजकमा क्रमशः हर्क तथा जगना गुरुङ दम्पती, माया बुटिक र किसन जिसी रहेका थिए।

त्यसैगरी, एनआरएनए कप पनि पासा पुचः गुठी यूकेले जितेको छ। एनआरएनए कपको पुरस्कार राशि यस वर्ष बढाएर £५०० पुर्‍याइएको थियो।

नृत्य प्रतियोगिताको नतिजा

  • प्रथम — तनहुँ समाज यूके
  • द्वितीय — पासा पुचः गुठी यूके
  • तृतीय — किरात राई यायोक्खा यूके

झाँकी प्रतियोगिताको नतिजा

  • प्रथम — पासा पुचः गुठी यूके
  • द्वितीय — मगर संघ यूके
  • तृतीय — बर्न्ट ओक समाज यूके

कार्यवाहक राजदूतद्वारा उद्घाटन

मेलाको औपचारिक उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा मिङ्मा डेभिड शेर्पा, इन्दिरा राना मगर, मंगोलियन हर्टका गायक राजु लामा तथा ब्रिगेडियर जनरल अनुप शाहलगायतको उपस्थिति थियो।

कार्यक्रमका क्रममा नेपाली कला, संगीत, पत्रकारिता, समाजसेवा तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

तमु धीं यूकेले प्रदान गरेको ‘इन्स्पायरिङ पर्सन अफ द इयर’ सम्मानबाट एभरेस्ट टाइम्स यूकेका अनलाइन प्रमुख एसके गुरुङ, सम्पादक डा. दुत पुन ‘चिम्खोले काईला’, सह–सम्पादक जमुना पुन, प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङ, गायक तथा मंगोलियन हर्टका गायक राजु लामा, मेडवे बरो काउन्सिलकी पूर्व मेयर काउन्सिलर निना गुरुङ, नेपाल पत्रकार महासंघ (FNJ) यूकेकी अध्यक्ष बिमला सेनी तथा ग्रान्डमास्टर तुलसीकुमार गुरुङ सम्मानित भएका थिए।

नेपाली कला र संगीतले थप्यो रौनक

मेलामा दिनभर विभिन्न सांस्कृतिक, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन भएका थिए। नेपालबाट आएका गायक प्रिय गुरुङ र दुर्गा गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए।

स्टेज कार्यक्रमको सञ्चालन सूर्य गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ, शिवाङ्गी गुरुङ र हेलिशाले गरेका थिए। तमु धीं यूकेको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङले गरेका थिए।

संस्कृति, पहिचान र सेवाको संगम

बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन भएको मेलामा सांस्कृतिक कार्यक्रमसँगै नेपाली खानाका स्टल, व्यापारिक तथा च्यारिटी स्टल, स्वास्थ्य शिविर र राफल ड्रलगायतका गतिविधि सञ्चालन भएका थिए।

यस वर्षको नेपाली मेला सांस्कृतिक प्रदर्शन र मनोरञ्जनमा मात्र सीमित रहेन। नेपालमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाएर बेलायतमा रहेका नेपालीहरू मातृभूमिको दुःखमा एकजुट हुने सन्देश पनि मेलाले दिएको छ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र मेला संयोजक कमल गुरुङले मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, स्वयंसेवक, कलाकार, निर्णायक, प्रायोजक, अतिथि तथा बेलायतवासी नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।

१० हजारभन्दा बढी सहभागी, ४२ संस्थाको झाँकी, २१ समूहको नृत्य तथा नेपालका बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने प्रतिबद्धतासहित सम्पन्न १७औँ नेपाली मेला बेलायतस्थित नेपाली समुदायको संस्कृति, पहिचान, सामुदायिक एकता र मानवीय सेवाको सशक्त अभिव्यक्ति बनेको छ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »