तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं यूकेले सर्प वर्गको विदाइ र घोडा वर्गलाई स्वागत गर्दै आफ्नो मौलिक पर्व ल्होछार मनाएको हो ।

अल्डरसटस्थित एम्पायर हलमा डा. हर्क अवार्ड, कम्युनिटी अवार्ड वितरण एवं सांस्कृतिक प्रस्तुतिसहित ल्होछार मनाइंदा बेलायतका तमु र गैर तमु अतिथीहरुले हल खचाखच थियो । नेपालबाट आमन्त्रित गायक–गायिका केशबहादुर गुरुङ र सलोमी गुरुङले तमु तथा अन्य गीतमा दर्शकहरुलाई घण्टौं नचाए ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले ल्होछार एवं अंग्रेजी नयां वर्षको शुभकामना दिंदै तमुधिं यूकेको कामबाट निकै प्रभावित बनाएको बताए ।

उनले प्रवासस्थित अरु देशका संघसंस्था भन्दा बेलायतमा रहेका नेपाली संघसंस्थाले राष्ट्र, राष्ट्रियता, भाषा, कला-संस्कृति, संस्कार, परम्परा, सभ्यता, मौलिक पन, सांस्कृतिक सम्पदा जस्ता कुरा प्रवर्धन र विदेशमा चिनाउन ठूलो भूमिका खेलेका र तमुधिं यूके त्यसको केन्द्रमा रहेको बताए ।

तमुधिं यूकेले पर्व विशेषमात्र नभएर नेपाली मेला, गोर्खाकप, नेपालको विकासमा सहयोग र युवा प्रतिभा पुरस्कृत गर्दै राज्यले गर्नुपर्ने दायित्व आफैंले बोध गरेकामा उनले धन्यवाद एवं खुशी व्यक्त गरे । कार्यवाहक राजदूत दुवाडीले बेलायती राजपरिवारदेखि जनतासम्मले नेपाली र नेपाललाई हेर्ने दृष्टिकोण निकै सकारात्मक र भावनात्मक भएको उल्लेख 
गर्दै यसमा बेलायतमा बसेका नेपालीको भूमिका मुख्य कारण रहेको बताए ।

कार्यक्रममा दुवाडीले दूतावासबाट गोर्खा मुद्दामा जारी पहल, कन्सुलर घुम्ती सेवा आदिबारे उल्लेख 
गर्दै पछिल्लो समय बेलायतको वर्क परमिटका नाममा नेपालीले ठूलो आर्थिक शोषण गरिरहेको खबर दूतावासमा आएकाले त्यस्तो कुकृत्य नगर्न र जारी राखे ति शोषकको नाम नै सार्वजनिक गरिदिने चेतावनी समेत दिए ।

औपचारिक कार्यक्रम अन्त्य गर्दै तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले ल्होछार शुभकामनासहित प्रायोजकहरु, अतिथीहरु, कलाकारहरु, कार्यक्रम संयोजक एवं सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गरे । उनले तमु ल्होछार सबैको साझा कार्यक्रम र भेटको साझा चौतारी भएको समेत बताए ।

कार्यक्रममा आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले आमा समूहले विगत एक वर्षमा विभिन्न संस्थालाई गरेको आर्थिक सहयोग र अन्य गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले संस्था स्थापनाको उद्देश्य र यसको विगत एवं वर्तमानबारे संक्षिप्त प्रकाश पारेका थिए ।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङले स्वागत मन्तव्य दिए भने तमुधिं यूकेका पूर्व स्पोर्टस् सेक्रेटरी क्याप्टेन देवबहादुर घलेले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।

विभिन्न अवार्ड र सम्मान प्रदान

सो अवसरमा तमुधिं यूके कम्युनिटी अवार्ड साउथ इष्ट रिजनल तमुधिं यूकेका अशोक गुरुङ र श्रीमति विन्दु गुरुङ, तमुधिं लन्डन इकाईका मोहनजंग गुरुङ र संगीता गुरुङ, ह्याम्पसायर एण्ड सरे इकाईका कुमार गुरुङ र श्रीमति लिडिया गुरुङ, वकिङ इकाईकी पद्मा गुरुङ, चार भन्ज्याङ तमु समाज यूकेका प्रकाश गुरुङ र श्रीमति पञ्च गुरुङले प्राप्त गरेका छन् ।

सो अवसरमा जिसिएसइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अविरल गुरुङलाई डा. हर्क अवार्ड प्रदान गरिएको छ । प्रमुख अतिथी कार्यवाहक राजदूत दुवाडी, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ लगायतले अवार्ड प्रदान गरेका थिए । अवार्ड कोअर्डिनेटर कुमार घलेले परिचयसहित विजेताको नाम घोषणा गरेका थिए ।

कार्यक्रममा लन्डन दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह, लेफ्टीनेन्ट अविराज शाह, लेफ्टीनेन्ट कर्णेल ललित गुरुङ, तमु ह्युला छोंजधीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा अन्तरराष्ट्रिय मामिला विभाग प्रमुख मनोज गुरुङ एवं नेपालबाट आएका कलाकारहरु सलोमी गुरुङ र केशबहादुर गुरुङलाईसमेत विशेष सम्मान गरियो ।

साथै, तमु प्रतिभा पुरस्कार टेनिस खेलाडी शिवाली गुरुङ र तेक्वान्दो खेलाडी रेखमाया गुरुङलाई प्रदान गरिएको छ ।

कार्यक्रममा तमु समुदायको मुखपत्र ‘फ्रेसी’ लोकार्पण गरिएको थियो । प्रमुख सम्पादक एकेन्द्र गुरुङको पहलमा प्रकाशित उक्त पत्रिका अतिथिहरूले लोकार्पण गरेका थिए । कार्यक्रममा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ समेत गराइएको थियो ।

दोश्रो चरणमा तमुधिं यूकेका सचिव विमल गुरुङ, सांस्कृतिक सचिव पार्वती गुरुङ ‘गुड्डु’, एवं सदस्यहरु अंशु गुरुङ र हेलिसा गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । सो चरणमा स्थानीय कलाकारहरुले विभिन्न नाच प्रस्तुत गरे ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »