१४ औं नेपाली मेला अगष्ट २७ मा लन्डनमा, तयारी पूरा

तमुधिं यूकेले गर्न लागेको १४ औं नेपाली मेलाको तयारी पूरा भएको छ।

आइतबार मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २७ अगष्ट आइतबार केम्पटन पार्क रेस कोर्समा मेला तयारी पूरा भएको बताए । मेलाको नारा छ- ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ।’

सन् २००९ देखि शुरु भएको मेलाको मुख्य उद्देश्य बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, आपसमा कला संस्कृतिको परिचय र युवा पुस्तामा नेपाली भाषा एवं कला संस्कृति हस्तान्तरण गर्ने रहेको संयोजक गुरुङले जनाए ।

मेलामा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, विभिन्न देशका कूटनीतिज्ञ, मेयर, काउन्सिलर, कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढ्ने विश्वकै एकमात्र आरोही हरि बुढामगर, सगरमाथा आरोही नायिका दिया पुन लगायत करिब ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

मेलामा उत्कृष्ट झांकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीनसय र तृतीय हुनेलाई २०० पाउण्ड दिइनेछ भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने मेला संयोजकले जनाए ।

झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिनेछ ।

मेलामा २९ वटा नेपाली संघसंस्थाले झांकी प्रदर्शन गर्नेछन् । १२ वटा संघसंस्था भने प्रतिष्पर्धा गर्ने छैनन् । तमुधिं यूके उपाध्यक्ष कमल गुरुङले खाना, पोशाक, गरगहना, च्यारिटी आदि गरि ३ दर्जन बढी स्टल रहने जनाए ।

मेला आयोजना गर्न ३७ हजार पाउण्ड अनुमानित खर्च लाग्ने आयोजकले जनाएका छन् ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले तमुधिं यूकेले आयोजना गरेपनि मेला सबैको साझा भएको बताउंदै सहभागिताका लागि आग्रह गरे ।

मेलाबाट वचत रहेको केही रकम च्यारिटीलाई दिइने बताउंदै अध्यक्ष गुरुङले दोश्रो पुस्तालाई नेपाली कला संस्कृति हस्तान्तरण मेलाको प्रमुख उद्देश्य रहेको उल्लेख गरे । उनले सहयोगी र सहभागीप्रति आभार समेत व्यक्त गरे ।

महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेका थिए । वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

मेला संयोजक परशु गुरुङ र मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुलाई परिचयसहित सम्मान गरेका थिए ।

कार्यक्रममा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु सुवसिं गुरुङ, रामचन्द्र सुर्जे गुरुङ र ज्ञाम गुरुङका साथै संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, आमा समूहलगायतको पनि उपस्थिति थियो।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »