बेलायतमा अहिलेसम्मकै भव्य बन्यो १६औं नेपाली मेला

बेलायतमा तमुधीं यूकेले आयोजना गरेको १६औं नेपाली मेला अहिलेसम्मकै भव्य बनेको छ ।

लन्डनस्थित केम्पर्टन पार्क रेस कोर्स, सनबुरी अन द थेम्समा आइतबार २४ अगस्ट २०२५ मा नेपाली मेला भव्यताका साथ सम्पन्न भएको हो । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपाली दूतावास लन्डनका राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि र उज्यालो नेपाल अभियानका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथिका रुपमा उपस्थित थिए । 

राजदूत घिमिरे, अध्यक्ष गुरूङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, भूपू अध्यक्षहरु हित काजी गुरुङ, नन्दजङ गुरुङ, रामचन्द्र गुरुङ, सुवाससिङ गुरुङ, मे.रि. डमर घले एमबीई, ज्ञाम गुरुङ र मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङले संयुक्तरुपमा रिवन काटेर कार्यक्रम शुभारम्भ गरेका थिए । 

उद्घाटनअघि प्रमुख अतिथि घिमिरे र विशेष अतिथि घिसिङलाई पालैपालो गेटबाट नौमती बाजागाजाका साथ मञ्चमा पुर्‍याइएको थियो । मौसम उघ्रेकोले मेलामा सहभागी बेलायतवासी नेपालीहरुको अनुहारमा चमक देखिन्थ्यो । नेपाल र बेलायतको राष्ट्रिय गान गाउनेक्रममा रेस कोर्सको खुला आकाशमुनिको दृश्य अति रमणीय देखियो ।

अझ नेपालबाट बेलायत सांगीतिक प्रस्तुतिका लागि आएकी चर्चित गायिका पवित्र गुरुङले हजारौं दर्शकमाझ ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ बोलको देशभक्तिपूर्ण गीत गाउँदा श्रद्धभावको माया दर्सिएको थियो । मानौं, केम्पर्टनपार्क नेपाल नै ओइरिएर आएको भान हुन्थ्यो ।

तराई/मधेश, पहाड, हिमालका विविधता झल्किने विभिन्न जातजातिहरुका मौलिक पहिरन, भेषभूषा, दैनिक प्रयोग हुने सामग्री, गाउँठाउँमा प्रचलित गीत र नृत्य प्रस्तुतिले नेपाली दर्शक र विदेशी पाहुनाहरु समेत रमाए ।

आयोजकका अनुसार मेलामा विभिन्न संघसंस्थाबाट ४५ भन्दा बढी झाँकीको प्रस्तुति रहेको थियो । तीमध्ये तनहुँ समाज यूके, बर्नओक समाज यूके, किरात राई यायोक्खा यूके, पासा पुच गुथी यूके, महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान यूके, किरात याक्थुङ चुम्लुङ यूके, बाग्लुङ समाज यूके, तमु कलाकार सांस्कृतिक मञ्च यूकेसहित ८ वटा समाजका झाँकीबीच प्रतिस्पर्धा गराइएको थियो ।

यस्तै खाना, विज्ञापन, कला र शिल्प, कपडा र प्रायोजक र परोपकार गरी ७३ वटा स्टलहरु राखिएका थिए । कार्यक्रम संयोजक कमल गुरुङ, प्रमुख अतिथि घिमिरे, विशेष अतिथि घिसिङ र अध्यक्ष जुमकाजी गुरुङले मन्तव्य राखेका थिए ।

उज्यालो नेपालका अभियन्ता कुलमान  घिसिङ, गण्डकी प्रदेशका संसाद वेदबहादुर (श्याम) गुरुङ, किक बक्सिङ खेलाडी संगम गुरुङ, तेक्वान्दो खेलाडी सजीना रानी घले, कलाकार कविता घर्तीमगर, गोर्खा मिडिया प्रबन्ध निर्देशक मिलन तमु र सहसम्पादक प्रकाश गुरुङ, नेपाली लिंकका सम्पादकहरु नविन पोख्रेल, ध्रुवराज अर्याल र नरेन्द्र बस्नेतलाई आआफ्ना क्षेत्रबाट देश र समाजमा उल्लेखनीय योगदान दिएको भन्दै तमुधीं यूकेले सम्मान गरेको थियो । सम्मानित हुनेहरुलाई प्रमुख अतिथि राजदूत घिमिरे र अध्यक्ष जुमकाजी गुरुङले खादा, फेटा, प्रमाणपत्रलगायत हस्तान्तरण गरे ।

मेलामा पहिलो पटक बेलायतमा जन्मे-हुर्केका युवापिढीहरुको पनि झाँकी र स्टल राखिएको थियो । रोंधी घर समाज यूके नेपाल नामकरण गरिएको समाजमा सन्ध्या गुरुङ, गरिमा राई, श्याम थापा, शबु पुन, अनुशा राई, पारितोष तामाङ, रिवेश आले, ध्वोज गुरुङ, प्रमिला तामाङ, अडम पुन, प्रसाङ सम्मिलित नयाँ पिढी पनि नेपाली मेलामा जोडिएकोमा धेरैले प्रशंसा गरेका थिए । उनीहरु आर्टिष्ट, फोटोग्राफर, फेसन स्ट्यालिस्ट, अर्किटेक, राईटर, रिसर्चर, म्युजिसियन, इभेन्ट अर्गनाइजर ब्याकग्राउन्डका युवाहरु रचनात्मक कलामार्फत आदिवासीहरुको ज्ञानको संरक्षण गर्दै नेपाली डायस्पोरिक पहिचानको वैकल्पिक दृष्टिकोण प्रदर्शन गर्ने उद्देश्यले समाज बनाएर जनजातिको पहिचान दिन बनेको गोर्खा मिडियालाई आयोजकले बताए ।

यसपाली एम्बास्डर कप २०२५ पासा पुच गुथी यूकेले हात पारेको छ । प्रथम बनेको गुथीले ११ सय पाउन्ड र ३५ वटा मेडल जित्न सफल भयो । दोस्रोमा किरात याक्थुङ चुम्लुङ यूकेले ७ सय पाउन्ड, ३५ वटा मेडल र तेस्रो स्थानमा आएको किरात राई यायोक्खा यूके ५ सय पाउन्ड र ३५ वटा मेडल जित्न सफल भयो ।

झाँकीतर्फ मगर संघ यूके पहिलो, पासा पुच गुथी यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तेस्रो भई क्रमशः ५ सय, ३ सय र २ सय पाउन्ड र प्रतिसमाज २० वटा मेडल पाए ।

सांस्कृतिक नृत्यमा पासा पुच गुथी यूके, तनहुँ समाज यूके, किरात याक्थुङ चुम्लुङ यूके क्रमश: पहिलो, दोस्रो र तेस्रो भई ५ सय, ३ सय र २ सय पाउन्ड साथै प्रतिसमाजलाई १० वटा मेडल दिइएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि हिमालयन जेटबाट ५ हजार पाउन्ड, डा. रक्षा थापा ११ सय पाउन्ड, लेम्फी इन्टरनेस्नल पेमेन्ट फर एभ्रिवान १ हजार पाउन्ड, अमित गुरुङ, मोमो स्टेसन अल्डरसट ७ सय पाउन्ड, एलएन पाण्डे ७ सय पाउन्ड, हम्प्टी मोमो ७ सय पाउन्ड, विजय गुरुङ ६ सय ५० पाउन्ड, लामा ज्वलर्स आधा तोला सुन, वाईबीसी ५ सय पाउन्ड, मोमो किङ इन्ट्री टिकट, रिता भट्टचन ५ सय पाउन्ड, हर्क गुरुङ ५ सय पाउन्ड, विकास नेपाल ३ सय पाउन्ड, राजन खकुरेल ३ सय पाउन्ड र अन्य १० जना दाताले १ सयदेखि २ सय पाउन्डसम्म प्रायोजन गरेको संयोजक कमल गुरुङले गोर्खा मिडियालाई जानकारी दिए । उनले मेलामा नेता, कलाकार, मिडियाकर्मी, विदेशी पाहुना, व्यापारी, धर्मगुरुहरु, शुभचिन्तक र सर्वसाधारण गरी १३ हजारभन्दा बढी सहभागी भएको पनि बताए ।

कार्यक्रममा अतिथि सत्कारको अभिभारा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ र टिमले लिएका थिए । कार्यक्रम सफल बनाउन तमुधीं यूकेका कार्यसमितिका सदस्यहरु, आमा समूह र स्वयंसेवकहरु सक्रियतापूर्वक खटिएका थिए । भीआइपीहरुका लागि खाना गोर्खा प्यालेस रेस्टुरेन्ट, फार्नबोरोले बन्दोबस्त गरेको थियो ।

कार्यक्रम संचालन सूर्य गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ, हेलिसा गुरुङ, पुनम गुरुङ र लक्षुमान गुरुङले गरेका थिए भने अभिनन्दन  र औपचरिक कार्यक्रम महासचिव डा.विशाल गुरुङले संचालन गरेका थिए । 

औपचारिक कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले अतिथि, सहभागी, संस्थाका पदाधिकारी, सदस्यलगायत सबैलाई धन्यवाद दिएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »