नेपाली मेलामा राजदूत घिमिरेले भने- बेलायतमा सिकेको सीप र पुँजी नेपालको उन्नतिमा लगाऔँ

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायतमा सिकेको सीप र पुँजीलाई नेपालको उन्नतिमा लगाउन सबै नेपालीलाई आग्रह गरेका छन्।

आइतबार तमु धीं यूकेले आयोजना गरेको १६औँ नेपाली मेलामा बोल्दै राजदूत घिमिरेले बेलायतमा रहेका नेपालीहरूको योगदानलाई प्रशंसा गर्दै भने, ‘तपाईंहरूको यो महान् कर्मका कारण आज हामी नेपाली मेलाको १६औँ संस्करणको नेपाली मेला सेलिब्रेट गरिरहेका छौँ । विगतमा र वर्तमानमा योगदान गर्ने तमु धींका सबैलाई बधाई छ। आगामी दिनमा अझ सबल भएर अगाडि बढ्नुपर्ने हुन्छ।’

उनले नेपाली मेलामार्फत बेलायतको भूमिमा नेपालीहरूको मन मुटु प्रस्तुत भएको उल्लेख गरे । ‘नेपालीहरू जहाँ जान्छन्, नेपाललाई लिएर जान्छन् भन्ने कुराको प्रमाण यही हो,’ उनले भने ।

राजदूत घिमिरेले बेलायतमा रहेका नेपालीहरूसँग आफ्नो अपेक्षा बढेको बताए । नेपाल हाल क्रसकन्ट्री, आर्थिक उन्नति र समृद्धिको एजेन्डामा अघि बढिरहेको उल्लेख गर्दै घिमिरेले बेलायतबाट नेपाल जाने पर्यटक संख्या बढाउन आग्रह गरे । उनका अनुसार, अहिले वार्षिक ५०–६० हजार बेलायती पर्यटक नेपाल जान्छन्। ‘यहाँ प्रत्येकले तीन जना बेलायतीलाई नेपाल पठाउने कर्म गरौँ। त्यसको अर्थ दुई लाख नेपालीले ६ लाख बेलायतीलाई नेपाल पठाउन सक्नेछन्,’ उनले भने ।

राजदूत घिमिरेले बेलायतमा नेपालीहरूले हासिल गरेका उपलब्धिबारे गर्व व्यक्त गरे । ‘यूकेभरि ३०० भन्दा बढी नेपाली रेस्टुरेन्ट देख्दा गर्व लाग्छ। अरू देशका राजदूतलाई उदाहरण दिएर भन्ने गरेको छु, नेपालीहरू पाँच वर्षअघि आउनुभयो । १० वर्षअघि आउनुभयो । २० वर्षअघि आउनुभयो । तपाईंहरू १०० वर्षअघि आउनुभएको थियो, तर तपाईंहरूले त्यति लामो समयमा बेलामा आर्जन गरेको उपलब्धि नेपालीहरूले ५ वर्षमा १० वर्षमा गरेर देखाउनुभएको छ,’ उनले भने, ‘अब त्यो उपलब्धिलाई नेपालमा कसरी लैजाने भन्ने सोच्नुपर्छ।’

त्यस्तै उनले यहाँ जन्मिएका नयाँ पुस्तामा पनि नेपालप्रतिको हुटहुटी देखिएको बताए। बेलायतमा रहेका हरेक नेपाली नेपालका लागि ब्रान्ड एम्बासडर भएको पनि उनले उल्लेख गरे । ‘विदेशीहरूसँग बेलायतीहरूसँग कुरा गर्दा नेपालको हितमा बोलिरहनुभएको छ। त्यो कर्मले नेपाललाई उज्ज्वल दिशामा लैजान मद्दत पुर्‍याउनेछ,’ राजदूत घिमिरेले स्पष्ट पारे।

राजदूतले बेलायतस्थित नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहँदै संयुक्त रूपमा काम गर्ने इच्छा प्रकट गर्दै भने, ‘आगामी दिनमा तपाईंहरूसँग काम गर्न चाहन्छु। म हरेक दिन यहाँहरूसँग जोडिन चाहन्छु, छलफल गर्न चाहन्छु। आज जुन सहयोग पाइरहेको छु, भोली पनि पाइरहूँ।’

उनले अन्त्यमा भने, ‘हामी सबैको जय होस्, नेपाल र नेपालीको जय होस्। यूके र नेपालबीचको सम्बन्धलाई अर्को तहमा पुर्‍याउन हामी सबैलाई सफलता मिलोस्।’

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता

Read More »

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »