बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ ।

हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट मैदानमा उत्रिएका थिए । गोर्खा कप फुटबल इभेन्टमात्र थिएन । यसपटक खाना, च्यारिटी, आइसक्रिम, केक, बबल टी, लत्ताकपडा आदि गरि १२६ स्टल थिए भने बालबालिकाका लागि बेग्लै फन फेयर राखिएको थियो ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू मैदानमा भएको उक्त फुटबल प्रतियोगितामा मेन क्याटगोरिजतर्फ राङभाङ समाज यूके वीनर बनेर ३५०० पाउण्ड नगद, शिल्ड, ट्रफी र सर्टिफिकेट प्राप्त गरेको छ ।

गुरुजी एलिट रनरअप भयो । रनर अपले २००० पाउण्ड, ट्रफी र सर्टिफिकेट पाएको छ ।

उक्त क्याटेगोरीमा वेष्ट म्यानेजर राङभाङ समाज यूकेका साम गुरुङ, टप स्कोरर नेप्जुम एफसीका एनियोला अलामो र प्लेयर अफ दि म्याच राङभाङ समाज यूकेका न्वाङ शेर्पा बने ।

भेट्रानतर्फ एफसी ०४ टिम विजेता भन्दा प्लमस्टिड एफसी उपविजेता बन्यो । भेट्रान वीनरलाई १८०० पाउण्ड एवं रनरअपलाई १२०० पाउण्ड दिइयो । त्यसैगरि, भेट्रान वेष्ट म्यानेजर एफसी ०४ का सोम थापा, भेट्रान टप स्कोरर एफसी ०४ कै निशान्त गुरुङ र प्लेयर अफ द म्याच शेरजंग थापाले उपाधि पाए ।

खेलमा महिलातर्फ तामाङ समाज एफसी वीनर र राउन्डबोल्ट एफसी रनरअप बन्यो । महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाएका छन् ।

उक्त क्याटगोरिजमा प्लेयर अफ द म्याच तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ बनिन् ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, हिमालय जेटका दीपेन्द्र गुरुङ, एनआरएनए केन्द्रिय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसपटकको संस्करणमा अघिल्लो वर्षभन्दा बढी टिम सहभागी थिए । टिम इन्ट्री संयोजक कुमार घलेले ३९ मेन, १६ भेट्रान र २ महिला गरि ५७ टिम प्रतिष्पर्धामा उत्रिएको जनाए ।

फाइनल खेलअघि प्रमुख अतिथि रसमोर बरो काउन्सिल मेयर क्यालुम स्टेवार्टले गोर्खा कप आयोजकलाई बधाई दिंदै यस इभेन्टले स्थानीय व्यापार व्यवसाय प्रवर्धन र समुदायबीच ‘इन्ट्रीगेसन’ गर्न सघाएको बताए ।

आयोजक तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले यस इभेन्ट बेलायती नेपाली समुदायकै साझा र सबैले अपनत्व गर्ने खालको बनेको उल्लेख गर्दै सबैको साथ बिना यो असम्भव रहेको बताए ।

कार्यक्रम संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्याप्टेन दिपक घलेले स्वागत मन्तव्य व्यक्त गर्दै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा तमुधिं यूकेले रसमोर बरो काउन्सिलका लागि मेयरलाई ५०० पाउण्ड, गोर्खा वेलफेयर ट्रष्टका कर्णेल बीजीलाई ५०० पाउण्ड, अतिथि अण्डर १५ स्कटिस राष्ट्रिय खेलाडी मेलिसा रेग्मी र लेजेन्ड अफ गोर्खा कप विजेता डेनिस महर्जनलाई नगदसहित सम्मान गरेको छ ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, अल्डरसट ग्यारिसनका कमाण्डर लेफ्टिनेन्ट कर्णेल म्याकफर्सन, ब्रिगेड अफ गोर्खाजका कर्णेल रोबिन्सन, स्कटिश राष्ट्रिय फुटबल खेलाडी (अण्डर १५) मेलिसा रेग्मी, हिमालयन जेटका निर्देशक दीपेन्द्र गुरुङ लगायत थिए ।

प्रथम पुरस्कार हिमालयन जेटले प्रायोजन गरेको थियो भने अन्य प्रायोजकहरुमा मःम किङ स्वीन्डन, मःम स्टेशन अल्डरसट, पोखरा रेस्टुरेन्ट लन्डन, आइएमइ लन्डन, सोल्टिज किचेन बुलफोर्ड, ह्याम्पसायर अकाउन्टिङ, नेपब्रीज, ट्रु एक्स, लेफ्टिनेन्ट कर्णेल बिल वीथर्स र पेपरवर्क सोलुसन थिए । सचिव विमल गुरुङले प्रायोजकहरुलाई धन्यवाद दिंदै उनीहरुको नामावली सुनाएका थिए ।

कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । बिहान ९ बजे शुरु भएको खेल समापन गर्दा बेलुका झण्डै ९ बजेको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला भव्य रूपमा सम्पन्न, बाढीपहिरो पीडितका लागि तत्काल सहयोग पठाउने घोषणा

लन्डन — बेलायतस्थित नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित १७औँ नेपाली मेला आइतबार, ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्समा भव्य रूपमा सम्पन्न

Read More »

बाढी पीडितका लागि तमुधीं यूकेको पहल: १७औं नेपाली मेला निरन्तरता दिँदै सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा

नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै तमुधीं यूकेले ३० अगस्ट २०२६ मा आयोजना हुने १७औं नेपाली मेलालाई निरन्तरता दिने निर्णय गरेको छ।

Read More »